
महोत्तरी, ५ पुस – महोत्तरी सदरमुकाम जलेश्वरमा पहिलो पटक यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला क्रिकेट संघ महोत्तरीको आयोजनामा सदरमुकाम जलेश्वरस्थित रङ्गशालामा पुस १२ गतेदेखि सञ्चालन हुने सो प्रतियोगितामा देशका नौवटै क्षेत्रका यु–१६ खेलाडीले भाग लिने संघका अध्यक्ष रोशन सिंहले जानकारी दिए । सिंहका अनुसार सो प्रतियोगितामा नेपालका क्रिकेट क्षेत्र नं १ विराटनगर, क्षेत्र नं २ वीरगन्ज, क्षेत्र नं ३ काठमाण्डु, क्षेत्र नं ४ भैरहवा, क्षेत्र नं ५ नेपालगञ्ज, क्षेत्र नं ६ बैतडी, क्षेत्र नं ७ जनकपुर, क्षेत्र नं ८ पोखरा र क्षेत्र नं ९ कञ्चनपुरका टिमहरुले सहभागिता जनाउने छन् । काठमाण्डुपछि पहिलो पटक महोत्तरीमा हुन गइरहेको यो प्रतियोगिताका लागि सबै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।