‘न्यायका लागि देश भित्रै मर्छु’

काठमाण्डु टुडे २०७० पुष ५ गते ८:५३ मा प्रकाशित

Mussarafइस्लामावाद, ५ पुस– पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफले आफू देश छोडेर नभाग्ने बताएका छन् ।

हाल घरैमा नजरबन्द गरिएका यस्तो भनाइ राखेका छन् । उनले भने, ‘म न्यायका लागि देशमै लड्छु तर देश छोडेर भाग्दिन ।’

करिब आठ महिनादेखि घरैमा नजरबन्दमा रहनुभएका पूर्व सैनिक शासक मुसर्रफले बताए । बितेको करिब आठ महिनापछि उनले बिहीबार दिएका पहिलो अन्तरवार्तामा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रपतिका रुपमा सन् १९९९ देखि सत्तामा आएका उनलाई सन् २००८ सम्म सत्तामा रहँदा गरिएका भनिएका कयौं अपराधका लागि हाल दोषी ठहराइएको छ । सैनिक जर्नेलका रुपमा रहेका उनले तत्कालीन प्रधानमन्त्री नवाज शरिफको सत्ता हत्याएर शक्तिमा आएका हुन् ।

उनले सैनिक प्रमुख र देशको कार्यकारी राष्ट्रपतिका रुपमा काम गरेका छन् ।

पछिल्लो समयमा उनलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्याको आरोपमा अदालतमा मुद्दा दायर गरिएको छ । सोही मुद्दाका लागि थुनामा रहेका उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

त्यसपछि पनि उनलाई घरैमा नजरबन्द गरिएको छ । नजरबन्दमै रहेका बेला उहाँले बिहीबार दिएको अन्तरवार्तामा सो धारणा राखेका हुन् ।

तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई हटाएर थुनामा राखेका मुसरफलाई हाल शरिफ देशको प्रधानमन्त्री भएपछि कडा भन्दा कडा कारबाही गर्नसक्ने अनुमान भइरहेकै बेला यो धारणा राखेका हुन् ।

पाकिस्तानको एक टेलिभिजन च्यानल एआरवाईलाई दिएको सो अन्तरवार्तामा उनले भने ‘ममाथि लागेका सबै मुद्दाहरुको म देशभित्रै डटेरै सामना गर्छु तर देश छोडेर म भाग्नेवाला छैन ।’

पाकिस्तानमा हालैका दिनमा मुसर्रफका कारण देशमा आतङ्कवादी क्रियाकलाप बढ्नसक्ने र उनका समर्थकहरुले देशमा कुनै घटना घटाउन सक्ने भएकोले ती सबै मुद्दालाई थाँती नै राखेर उनलाई देशबाहिर जाने अनुमति सरकारले दिनसक्ने समाचार आइरहेको छ ।

सो समाचारको खण्डनगर्दै उनले त्यस्तो खालको कुनैपनि सूचना आफूले नपाएको र यदि कसैले देश छोडेर जानका लागि दिएको स्वीकृतिलाई पनि आफूले नमान्ने पनि बताए ।

उनलाई आगामी डिसेम्बर २४ मा त्यहाँको आतङ्कवादी क्रियाकलापहरुको मुद्दा हेर्ने अदालतले बयानका लागि बोलाएको छ । उनी गएको आठ महिनादेखि यी सबै खालका मुद्दा र सुनुवाईमा उपस्थित भइरहेका छन् ।

उनलाई अदालतसम्म पुर्‍याउनका लागि पनि प्रहरीलाई निकै ठूलो सुरक्षा सतर्कता अपनाउनु परिरहेको छ । उनलाई भुट्टो हत्याको आरोपमा सो अदालतमा मुद्दा चलाइएको छ ।

उनलाई राष्ट्रघात गरेको अरोपमा पनि मुद्दा चलाईएको छ । यसरी देशमा राष्ट्रघात गरेको आरोपमा अदालतमा मुद्दा चलाईएको उनी पहिलो राष्ट्रपति हुन् ।

रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us