कोइरालासँग भारतीय र अष्ट्रेलियन राजदुतको भेट

काठमाण्डु टुडे २०७० पुष ५ गते ८:१२ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ५ पुस । संविधानसभाको चुनाव भएको एक महिना बितिसक्दा पनि समानुपातिक सभासद चयन र सरकार निर्माणका विषयमा कुरा मिल्न नसकिरहेका बेला कुटनीतिक निकायले सक्रियता बढाएको छ । उच्च स्तरीय चिनियाँ टोलीले भेटेको भोलिपल्टै भारतीय राजदुत रञ्जित रे र अष्ट्रेलियन राजदुत ग्लेन ह्वाईटले भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका काँग्रेस सभापति सुशिल कोइरालासँग शुक्रबार छुट्टा–छुट्टै भेटवार्ता गरेका छन् ।
बिहान कोइराला निवासमा भएको भेटमा भारतीय राजदुत रे ले सरकार निर्माणका विषयमा चासो राखेका छन् । नेपालको शान्ति, संविधान र विकास आफूहरुको प्राथमिकतामा रहेको भन्दै भारतीय राजदुत रे ले दलहरुको सहमतिमा सरकार बनाएर संविधान निर्माणमा मुलुकलाई केन्द्रीत गर्न सुझाव दिएको बुझिएको छ ।
उनले नेपालको राजनीति सहमतिको आधारमा चलेकोले काँग्रेसले सहमतिको नेतृत्व गर्दै सबैलाई साथ लिएर अघि बढ्नु पर्नेमा जोड दिएको कोइराला निकट स्रोतले जनाएको छ ।
जवाफमा कोइरालाले सहमतिको प्रयास भईरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास दिलाएका थिए । यस्तै अष्ट्रेलियन राजदुत ह्वाइटले पनि सहमतिको प्रयास र सरकार निर्माणका विषयमा चासो राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us