चिसो बढेपछि मुस्ताङका सबै विद्यालय बन्द

काठमाण्डु टुडे २०७० पुष ५ गते ७:२५ मा प्रकाशित

ghumti-school-1मुस्ताङ, ५ पुस – जाडो बढेसँगै हिमालपारीको जिल्ला मुस्ताङमा रहेका सबै विद्यालय दुई महिनाका लागि बन्द भएका छन् । मंसिर र पुस महिनामा उपल्लो भेगमा निरन्तर हिउँ पर्ने र अत्यधिक चिसो हुने भएकाले मुस्ताङका विद्यालय हरेक वर्ष यसरी नै बन्द हुने गर्दछन् । जिल्लाको १६ गाविसमा सञ्चालनमा रहेका सबै विद्यालय पुस १ गतेदेखि दुई महिनाका लागि बन्द गरिएको जिल्ला शिक्षा कार्यालय मुस्ताङका विद्यालय निरीक्षक भूमिराज ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार छोसेरमा रहेको दिव्यदीप मावि र लोमानथाङ्को राष्ट्रिय निमावि सरकारी अनुदान र छोन्हुपको छ वटा प्रावि गाविस, जिविसलगायत अन्य निकायको सहयोगमा पोखराका विभिन्न ठाउँमा घुम्ती विद्यालयका रुपमा सञ्चालनमा रहेका छन् ।
राष्ट्रिय निमावि लोमानथाङ पोखरास्थित नागढुङ्गामा, दिव्यदीप निमावि  कुडहर र छोनहुपको दिव्यज्ञान प्रावि, सरस्वती प्रावि, भृकुटी प्रावि, वीरेन्द्र प्रावि, जनप्रभात प्रावि र बुद्ध प्रावि चिसाखोलामा घुम्ती विद्यालयका रुपमा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।
उपल्लो मुस्ताङका तीन गाविसका सर्वसाधारण चिसोको कारण दसैँलगत्तै तल झर्ने भएकाले पोखरामा घुम्ती विद्यालयका रुपमा सञ्चालन हुने गरेको विद्यालय निरीक्षक ज्ञवालीले बताउनुभयो । मुस्ताङमा रहेका ६२ वटा विद्यालयमध्ये अहिले दुई उच्च मावि, पाँच माविसहित ५७ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।  विद्यार्थीको अभावमा विद्यालय बन्द हुन थालेपछि पाँच वटा विद्यालय बन्द गरिएको छ भने एक विद्यालयलाई गाभिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
अहिलेसम्म मुस्ताङमा ध्ये, टिरी, दियो र धि प्रावि विद्यार्थीको अभावमा बन्द भएको र नेपाल बालसंगठन प्राविलाई जनहित उमावि जोमसोममा गाभिएको विद्यालय निरीक्षक ज्ञवालीले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार अहिले मुस्ताङमा सरकारी, निजी र गुम्मा विद्यालयमा गरी करिब तीन हजार विद्यार्थी मात्रै रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us