
काठमाण्डु, ५ पुस–पछिल्लो समय नेपालमा सडक सुरक्षाको क्षेत्रमा काम गर्दै आएको नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा) को आयोजनामा शुक्रबारदेखि काठमाण्डुमा पहिलो सडक सुरक्षा सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा सडक सुरक्षा क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका गरी करिब ३०० जना सहभागी भएका छन् ।
सडक सुरक्षासम्बन्धी विभिन्न आठ वटा कार्यपत्र प्रस्तुत हुने सो सम्मेलनमा यातायात क्षेत्रका विज्ञ, मानव अधिकारवादी, उपभोक्ता अधिकारकर्मी, अटो व्यवसायी, अटो प्राविधिक, विद्यार्थी, प्राध्यापक, कानुनविद्, इन्जिनियर, चिकित्सक, सडक विभाग, सञ्चारकर्मीलगायतका सडक सुरक्षामा आबद्ध विदेशी प्रतिनिधिको समेत सहभागिता रहेको नासाका सचिव सुशील तण्डुकारले जानकारी दिए ।
एफआइए फाउन्डेसनको सहयोगमा नेपाल अटो मोबाइल स्पोर्टस् एसोसिएसन आयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहआयोजक रहेको सो कार्यक्रममा स्वतन्त्रता अभियान नेपाल, रोड सेफ्टी फोरम नेपालको सहकार्य र एसटिसी प्रालि बल्खुको सहयोग रहेको छ ।
सम्मेलनबाट आएको निष्कर्षलाई सरकार समक्ष प्रस्तुत गर्ने र नेपालको सडकलाई सुरक्षित बनाउन आफ्नो अभियानलाई कायम राख्ने नासाले जनाएको छ ।