तीन महिनामा नै टेलिमेडिसिन सेवा ठप्प

काठमाण्डु टुडे २०७० पुष ५ गते ५:१३ मा प्रकाशित

सल्यान, ५ पुस–जिल्ला अस्पताल सल्यानमा सञ्चालित टेलिमेडिसिन सेवा तीन महिना नबित्दै ठप्प भएको छ । बढ्दै गएको विद्युत्भार कटौती र इन्टरनेटको गति कम भएपछि टेलिमेडिसिन सेवा प्रभावित भएको हो ।

सेवा प्रभावित भएपछि बिरामीले आफूले रोजेका डाक्टरसँग प्रत्यक्ष कुराकानी गरेर सल्लाह तथा सुझाव लिन पाएका छैनन् । काठमाण्डुका रोग विशेषज्ञसँग कम्प्युटरमा प्रत्यक्ष कुराकानी गर्न मिल्ने भए पनि बिरामीहरु अहिले उक्त सेवाबाट समेत वञ्चित छन् ।

जिल्ला अस्पतालमा आएका बिरामीलाई राखेर काठमाण्डुमा बसेका रोग विशेषज्ञहरुसँग कुराकानी गराई उपचार गराउने उद्देश्यका साथ सञ्चालन गरे पनि सोचेअनुसार सेवा दिन नसकेको स्वास्थ्य प्रमुख डा. रामराज पन्थीले जानकारी दिए । रोग विशेषज्ञसँग बिरामीलाई बिहान प्रत्यक्ष कुराकानी गराउने व्यवस्था गरे पनि दिनमा तीनपटक विद्युत्भार कटौती हुन थालेपछि सेवा बन्द भएको हो ।

जिल्लाका बिरामीले आफ्नै ठाउँबाट सेवा पाउन भनी सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । अहिले प्रत्यक्ष कुराकानी गर्न नसके पनि इमेलमार्फत मेसेज पठाउने र त्यही अनुसार बिरामीलाई सल्लाह दिने काम मात्र भइरहेको उनको भनाइ छ । अस्पतालमा जेनेरेटर भए पनि लामो समय कुराकानी गर्नुपर्ने हँुदा खर्च बढी लाग्ने भएकाले पनि प्रयोगमा ल्याउन नसकिएको डा. पन्थीको भनाइ छ ।

टेलिमेडिसिन सेवा सञ्चालनमा सहभागी हुँदै आएका स्वास्थ्यकर्मी रवीन्द्र विष्टले इन्टरनेटको गति कम भएकाले र बिजुलीकै कारण प्रभावकारी नभएको बताए । भिडियोबाट कम्प्युटरमा प्रत्यक्ष कुराकानी गर्नका लागि अहिले नयाँ सफ्टवेयर हाल्ने तयारी भएको छ । त्यो भएमा नियमित सञ्चालन गर्न सकिने उनको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us