छाउपडी उन्मूलन गर्न कार्ययोजना निर्माण

काठमाण्डु टुडे २०७० पुष ५ गते ४:२५ मा प्रकाशित

मुगु, ५ पुस–मुगु जिल्लामा परम्परादेखि कुरीतिका रुपमा कायम रहेको छाउपडी प्रथा उन्मूलन गर्न जिल्लास्तरीय रणनीतिक कार्य योजना निर्माण गरिएको छ । जिल्लाका २४ वटै गाविसमा सरकारी तथा गैरसरकारी निकायको साझा समन्वयमा जनचेतनामूलक कार्यक्रमहरुलाई जोड दिनुपर्ने, परम्परागत चालचलनलाई रुपान्तरण गर्ने, धामी–झाँक्री केन्द्रित कार्यक्रम लक्षित गर्नेजस्ता क्रियाकलाप समेटर कार्ययोजना निर्माण गरिएको हो ।

रणनीतिक कार्य योजना निर्माण गोष्ठीमा सहभागी जिल्ला शिक्षा कार्यालय मुगुका विद्यालय निरीक्षक धनसुधन चौलागार्इंका अनुसार विशेषगरी बुढापाका, विद्यालय, किशोरकिशोरीलाई लक्षित गरी छाउपडी प्रथा उन्मूलनका लागि परामर्श, जनचेतना तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिए आगामी तीन वर्षभित्र जिल्लालाई नै छाउपडीमुक्त जिल्ला घोषणा गर्न सकिने अवस्था छ ।

बिहीबार निर्माण गरिएको कार्ययोजनालाई छाउपडी प्रथा उन्मूलन जिल्लास्तरीय समन्वय समितिको बैठकबाट अनुमोदन गराएर जिल्ला परिषद्बाट नै अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भइरहेको मुगु जिल्लाका पाँच गाविसमा छाउपडी प्रथासम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको हिमाली ग्रामीण तथा युवा समाज विकास केन्द्रका अध्यक्ष मीनबहादुर रावलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us