काँग्रेसमा सभासद चयन प्रक्रिया जटील

काठमाण्डु टुडे २०७० पुष ५ गते २:५९ मा प्रकाशित

NC-Flagकाठमाण्डु, ५ पुस–सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवापक्षबीच भागबन्डा नमिल्दा नेपाली काँग्रेसमा समानुपातिक सभासद चयन प्रक्रिया जटील बनेको छ । यसअघि भागबन्डा नमिलेकै कारण निर्वाचन आयोगलाई सभासदको नामावली बुझाउने समयसीमा बढाउन लगाएको काँग्रेस भागबन्डाको राजनीतिबाट अझै उम्किन सकेको छैन ।

नेताहरुको खल्तीबाट सभासद चयन गर्ने प्रक्रिया गलत भएको भन्दै काँग्रेसका केही युवा नेताहरुले त्यसो नगर्न नेतृत्वलाई खबरदारी गरेका छन् । गगन थापा लगायतका केन्द्रीय सदस्यहरुले स्पष्ट मापदण्ड बनाइ सोही मापदण्ड अनुसार योग्य, इमान्दार र पार्टीप्रति योगदान पुर्याएका व्यक्तिलाई छान्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । कोइराला पक्षका ७० र देउवा पक्षका ३० प्रतिशत नेता छानेर सभासदको सूची बुझाउने काँग्रेसको तयारी युवा नेतृत्वको खबरदारीको कारण संकटमा परेको छ । यद्यपी देउवा पक्षले बराबर हैसियत माग्दै आएको छ ।

भागबन्डा नमिल्दा यसअघि निर्वाचन आयोगले दिएको समयसीमा भित्र सभासद चयन नसकेर काँग्रेसले सभासदको नामावली बुझाउने म्याद थप्न लगाएको थियो । संविधानसभामा सहभागी नहुने अडान लिएको एमाओवादी पनि संविधानसभामा आउन सकारात्मक रहेको भन्दै काँग्रेसले दोस्रोपटक निर्वाचन आयोगलाई म्याद थप्न लगाएर समयसीमा पुस १० सम्म पुर्याएको छ ।

समसामयीक राजनीतिक परिस्थितिको समिक्षा गर्दै सरकार गठन लगायत विषयमा छलफल गर्न गत बुधबारदेखि काँग्रेस केन्द्रीय समिति बैठक बस्दै आएको छ । तर, गुटबन्दीबाट सभासद छान्ने प्रक्रियामाबाट काँग्रेस उम्किन सकेको छैन । कोइराला–देउवा पक्षबीच भागबन्डा खोज्ने र भागबन्डाको श्रृङ्खला तोडिनुपर्ने पक्षबीचको संघर्षले काँग्रेसको समानुपातिका सभासद चयन प्रक्रिया जटिल बनेको छ ।

सभासद चयनको लागि बस्दै आएको काँग्रेस केन्द्रीय समिति बैठकमा युवानेताहरु एकजुट भएर भागबन्डाको राजनीति त्याग्न नेतृत्वलाई खबरदारी गरेका छन् । यसैगरी सरकार निर्माण लगायत विषयमा आन्तरिक छलफलपछि मात्रै अन्य दलहरुसँगको वार्ता अघि बढाउन पनि केन्द्रीय सदस्यहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । विहीबारसम्म २२ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । उनीहरुले यसअघि अवसर नपाएका र प्रत्यक्ष तर्फ निर्वाचित नभएका जिल्लाबाट सभासद चयनमा प्राथमिकता दिन सुझाव दिएका छन् । शुक्रबार पनि धारणा राख्ने क्रम जारी रहने काँग्रेसले जनाएको छ ।

केन्द्रीय सदस्यहरुको दवाव अनुसार काँग्रेसले सरकार गठन र संविधानका मुद्दामा सहमति खोज्न फरक फरक कार्यदल गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us