दहचोकमा काँडेभ्याकुर कम देखिन थाले

काठमाण्डु टुडे २०७० पुष ५ गते २:२९ मा प्रकाशित

Kadevyakurकीर्तिपुर, ५ पुस–नेपालमा मात्रै पाइने विश्वकै दुर्लभ चरा काँडेभ्याकुर काठमाण्डुको दहचोकमा पनि निकै कम देखिन थालेको छ । काठमाण्डु पश्चिमभेगस्थित दहचोकको जङ्गलमा पहिले प्रशस्तै देखिने काँडेभ्याकुरको सङ्ख्या पछिल्लो समयमा निकै कम हुँदै गएको स्थानीयवासी बताउँछन् ।

विशेषगरी नेपालको ललितपुरको चापागाउँ बज्रबाराही जङ्गल आसपास र काठमाण्डु पश्चिमभेगस्थित दहचोकको जङ्गल आसपासमा पाइने दुर्लभ चरा काँडेभ्याकुर आजभोलि कहिलेकाँही मात्र देखिने गरेकोे स्थानीय दहचोक एकता क्लबका अध्यक्ष रोशन दानीले जानकारी दिए ।

विगतका वर्षमा धेरै संख्यामा देखिने गरेको काँडेभ्याकुर क्रमशः कम हुँदै जानुमा काठमाण्डुको बढ्दो प्रदूषण तथा जलवायु परिवर्तनसमेत हुन सक्ने स्थानीयवासी तर्क गर्दछन् । दस वर्षअघि सम्म वनमा यत्रतत्र पाइने दहचोक क्षेत्रको गहनाजस्तो बनेको काँडेभ्याकुरको अवलोकनका लागि पहिले पहिले चराको अध्ययनका लागि दहचोकमा विज्ञहरु आउने गरे पनि अहिले त्यो क्रम नदेखिएको स्थानीयवासीको भनाइ छ ।

सन् २००२ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले अति लोपोन्मुख पंक्षीका रुपमा काँडेभ्याकुरलाई सूचीकृत गरेको थियो । विश्वमा नै नेपालमा मात्रै पाइने दुर्लभ चरा काँडेभ्याकुरको वैज्ञानिक नाम निपालेन्सिस हो ।

काँडेभ्याकुर: संक्षिप्त परिचय

babler

नेपालमा मात्र पाइने चराको रुपमा काँडे भ्याकुरलाई चिनिन्छ । यसलाई नेपालको एकमात्र विशुद्ध रैथाने प्रजातिे मानिन्छ । नेपालको संरक्षित पंक्षीहरुको सूचीमा रहेको ९ पंक्षी मध्ये यो पनि एक हो । काँडे भ्याकुर काठमाडौं उपत्यकाको काँठ क्षेत्र वरिपरि र पहाडी क्षेत्रमा पाईन्छ । खैरो रङ्गको यो पंक्षीको ठुड तीखो हुन्छ । काँडे भ्याकुर लजालु प्रकृतिको हुन्छ । मानिसहरुको सम्पर्कमा आउन खासै रुचि राख्दैन ।

करिब एक शताव्दीसम्म यसलाई लोप भएको मानिएको थियो । अमेरिकी पंक्षीविद सिड्नी डाइलन रिप्लेले काँडेभ्याकुरलाई नेपालमा फेला पारेपछि यो अस्तित्वमा भएको पत्ता लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us