तोरीको उत्पादन बढाउने काइदा

काठमाण्डु टुडे २०७० पुष ५ गते २:२० मा प्रकाशित

mustardचितवन, ५ पुस–तोरी उत्पादनका लागि प्रख्यात जिल्लाका रुपमा परिचित चितवनमा केही वर्षयता खस्किएको तोरीको उत्पादनलाई बढाउन सरकारी तवरबाट अभियान थालिएपछि उत्पादन बढ्ने संकेत देखिएको छ । एक दशक अघिसम्म देशभर चितवनको तोरी लोकप्रिय मानिन्थ्यो र उत्पादन पनि राम्रो थियो । पछिल्लो समय क्रमिकरुपमा उत्पादन घट्दै गएपछि किसानले तोरी खेती गर्न छाडेका थिए । उत्पादन बढाउनका लागि सरकारले बीउमा अनुदान दिन थालेपछि किसानको आकर्षण पुनः बढेको छ ।

यो वर्ष जिल्ला कृषि विकास कार्यालय चितवनले तोरी खेतीको लागि बीउमा ५० प्रतिशत अनुदान दिएको छ । चितवनको माटो तोरी खेतीका लागि उपयुक्त मानिन्छ । सरकारी अनुदान पाएपछि विस्थापित अवस्थामा पुगेका किसान तोरीखेतीप्रति आकर्षित भएका हुन् । चितवनको कुल ४६ हजार ८९४ हेक्टर खेतीयोग्य जमिनमध्ये हाल ४४ हजार ३९१ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ ।

कार्यालयका अनुसार चितवनमा हिउँदे खेतीका रुपमा गहुँ, तोरी, फापर, मुसुरो, राजमा, मकै लगायतका अन्नबाली लगाइन्छ । गत वर्ष ११ हजार ७०० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो भने यो वर्ष १२ हजार हेक्टरमा तोरीखेती गरिएको प्रारम्भिक अनुमान छ । कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार ३० मेट्रिक टन अनुदानको बीउ तोरी किसानलाई वितरण गरिएको छ ।

गत वर्ष १० हजार ४१३ मेट्रिक टन तोरी उत्पादन भएकामा यो वर्ष १५ प्रतिशतले तोरीको उत्पादन वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ । कार्यालयका प्रमुख राजाराम अधिकारीले जिल्लामा तोरीको उत्पादन बढाउनका लागि माइक्रो न्युट्रियन सल्फर नामक भिटामिन अनुदानसमेत दिइएको बताए । किसानको सङ्ख्या बढाएर उत्पादन बढाउन बीउ, विषादी, भिटामिनलगायत प्राविधिक सहयोग दिन सुरु गरेको अधिकारीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us