आई पिङ र डा. भट्टराईबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० पुष ५ गते १:३० मा प्रकाशित

IPING & bHATTARAIकाठमाण्डु, ५ पुस–नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ टोलीले शुक्रबार पनि राजनीतिक भेटवार्ता जारी राखेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला सम्वन्धि उपमन्त्री आई पिङ नेतृत्वको टोलीले शुक्रबार एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । भेटवार्ताको लागि आई पिङ भट्टराई निवास सानेपा पुगेका थिए ।

भेटवार्तामा नेपालको परिवर्तित राजनीतिक परिस्थिति, संविधान निर्माणमा एमाओवादीको भुमिका र द्विपक्षीय हितका बिषयमा छलफल भएको भट्टराईको सचिवालयले जानकारी दिएको छ ।

आई पिङले विहीबार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । उनले बुधबार एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा माओवादी अध्यक्ष मोहन वैद्यसँग पनि छुट्टा छुट्टा भेटवार्ता गरेका थिए ।

काँग्रेस विदेश विभागको निमन्त्रणमा चिनियाँ उच्चस्तरीय टोली मंगलबार नेपाल आएको थियो । दोस्रो संविधानसभा निर्वाचनपछि नेपाल आएको यो सबैभन्दा उच्चस्तरीय चिनियाँ टोली हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us