
काठमाण्डु,४ पुस-नेपाल विद्युत् प्राधिकरण र भारतको टाटा कम्पनीबीच ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण निर्माण सम्झौता भएको छ ।
प्राधिकरण र टाटा कम्पनीबीच प्रसारण लाइन निर्माणसम्बन्धी भएको सम्झौतामा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक पुष्पराज खड्का र कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको आयोजना प्रमुख बद्रीनारायण साहले जानकारी दिए । कुल १२९ किमि सो अन्तरदेशीय प्रसारण लाइन नेपालतर्फ ४० किमि निर्माण गर्नुपर्ने र बाँकी भारतले निर्माण गर्ने छ । सो आयोजनामा नेपालले रु दुई अर्ब २६ करोड ३० लाख तथा भारतले रु दुई अर्ब ३५ करोड २० लाख लगानी गर्ने छन् ।
प्राधिकरणले लामो समयदेखि अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारे पनि काम अगाडि बढ्न नसक्दा भारतबाट विद्युत् आयात गर्न समस्या पैदा हुँदै आएको थियो । एसियाली विकास बैंकको सहयोगमा हुन लागेको सो प्रसारण लाइन निर्माणपछि नेपालमा उत्पादित बिजुली बेच्न समेत सहज हुने विश्वास लिइएको छ । सो प्रसारण लाइन सन् २०१५ भित्र निर्माण गरिने लक्ष्य छ । प्रसारण लाइन निर्माण भएपछि भारतबाट १५० मेगावाट विद्युत् ल्याउन सहज हुने बताइएको छ । रासस