
जनकपुर, ४ पुस– जनकपुर क्षेत्रबाट अत्याधिक रुपमा सुन तस्करी हुने गरेको पाइएको छ ।
नेपालभन्दा भारतमा सुन महँगो भएका कारण अहिले सुन तस्करहरू दिनप्रतिदिन जनकपुरको बाटो प्रयोग गर्दै भारततर्फ सुन तस्करी गरिरहेका छन् ।
एक सुन व्यापारीका अनुसार प्रत्येक दिन जनकपुरबाट पाँच किलोभन्दा अधिक सुनको तस्करी भइरहेको छ । एक किलो सुनमा चार लाख रुपैयाँ भन्दा बढी नाफा हुने गरेका कारण दर्जनौं व्यक्ति यस किसिमको धन्दामा संलग्न रहेको बुझिएको छ ।
कतिपय तस्करले जनकपुर बजारमा सुनका गरगहना बनाएर तथा शरीरका विभिन्न भागमा लुकाएर भारततर्फ सुन तस्करी गर्ने गरेको बताइन्छ ।
चीनको बाटोबाट नेपाल आउने गरेको सुन खुल्ला नाकाका कारण तस्करहरूले जनकपुरको बाटो प्रयोग गर्दै भारततर्फ लगिराखेका छन् ।
सुनको तस्करी बढेपछि जनकपुर बजारमा भारतीय रुपैयाँको सटही समस्या केही मात्रामा टरेको छ । सोका कारण अहिले नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयमा भारतीय रुपैयाँ सटही गर्नेको सङ्ख्यामा कमी देखिएको छ ।
कतिपय सुन तस्करहरूले सीमा क्षेत्रका पसलबाट नेपाली रुपैयाँ सङ्कलन गरी जनकपुर बजारबाट सुन तस्करी गर्ने गरेको समेत बुझिएको छ ।
रासस