देवघाट–रामनगर पर्यटन मार्गको निर्माण सुरु

काठमाण्डु टुडे २०७० पुष ४ गते ९:०५ मा प्रकाशित

Devghatचितवन, ४ पुस– चितवन, नवलपरासी र तनहुँलाई जोड्ने गरी देवघाट–रामनगर धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया सुरु भएको छ ।

पवित्र तीर्थस्थल देवघाटबाट सुरु भई ठिमुरा, रामनगर हुँदै राजमार्ग निस्किने र नवलपरासीको गैंडाकोटबाट मौलाकालिका हुँदै पुनः देवघाटमा जोड्ने धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया सुरु गरिएको हो ।

भौतिक योजना तथा निर्माण मन्त्रालयले सो मार्गका लागि २० लाख रुपैयाँ उपलब्ध गराएपछि निर्माणको प्रक्रिया थालिएको देवघाट सप्तगण्डकी विकास तथा वातावरणीय संरक्षण समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । करिब ३० किलोमिटर मार्गका लागि आधामात्रै नयाँ मार्ग निर्माण गर्नुपर्ने देखिएको छ ।

बाँकी मार्ग चालु अवस्थामै रहेको छ । करिब रु दुई करोड लागत रहेको योजनामा एक करोड रुपैयाँ भौतिक योजना मन्त्रालयले र बाँकी एक करोड अर्थ मन्त्रालयले दिने आश्वासन दिएकाले निर्माण प्रक्रिया थालिएको पौडेलले बताए ।

उनका अनुसार पवित्र तीर्थस्थल देवघाटलाई केन्द्रबिन्दु पारेर सडक निर्माण गरिने छ । अहिले बर्सेनि लाखौं पर्यटक स्वदेश तथा विदेशबाट देवघाट आउने गरेकामा सडक निर्माणसँगै धार्मिक पर्यटक थपिने विश्वास स्थानीयवासीको छ ।

देवघाट क्षेत्र विकास समितिको २० वर्षे गुरुयोजनामा रहेको सो मार्ग निर्माणका लागि आवश्यक तयारीपछि बोलपत्र आह्वान गरेर तत्कालै फिल्डको काम थाल्नेसमेत पौडेलले बताए ।

जिल्ला विकास समिति चितवन, भरतपुर नगरपालिका, देवघाट क्षेत्र विकास समिति र देवघाट सप्तगण्डकी विकास तथा वातावरणीय संरक्षण समितिको पहलमा मार्ग निर्माणको प्रक्रिया थालिएको हो ।

विभिन्न क्षेत्रमा रेखाङ्कनको काम सम्पन्नसमेत भएको बताइएको छ । सो मार्गमा चर्चित धार्मिक क्षेत्र मौलाकालिका–देवघाट पनि पर्दछ ।

 रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us