
काठमाण्डु, ४ मंसिर–अन्तरिम चुनावी सरकारले सरुवा बढुवाको निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले सहन्यायाधीवक्ता महेश कुमार थापालाई न्यायाधीवक्तामा बढुवा गरेको छ ।
यसैगरी नेपाली सेनाको रिक्त रथी पदमा प्रदीप विक्रम राणालाई बढुवा गरी बलाध्यक्ष रथीमा पदस्थापन गरेको छ । यस्तै रथी पवन बहादुर पाण्डेलाई बलाधिकृत कार्यालयमा सरुवा गरिएको छ ।
नेपाली सेनाकै प्राविधिक तर्फका नरेशकुमार गिरी सहित तीन जनालाई रथी पदमा र अरुण शमसेर राणा सहित तीन जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता माधव प्रसाद पौडेलले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले अछाममा रहेको बुढीगंगा जलविद्युत आयोजनाको लागि २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ साउदी अरबबाट ऋण लिन विद्युत विकास विभागका निर्देशकको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।
बैठकले मुक्त कमैया पुन:स्थापना समस्या समाधान आयोग गठन आदेशको बाह्रौं संशोधन २०७० लाई पारित गरेको छ । सरकारले आयोगको कार्यावधी असार मसान्तसम्मका लागि थपेको छ ।