पकेट गाउँबाट करोडको सुन्तला निर्यात

काठमाण्डु टुडे २०७० पुष ४ गते ५:५७ मा प्रकाशित

Orangeबागलुङ, ४ पुस–सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको बाग्लुङ जिल्लाको बिहुँ गाविसबाट करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । कुल ४७ हेक्टर क्षेत्रफलमा उत्पादन भएको करिब ९०० मेट्रिकटन सुन्तलाबाट कृषकले करोडौं रुपैयाँ गाउँ भित्र्याएका छन् । व्यापारीको कृषकबाट प्रतिकेजी ३० रुपैयाँमा सुन्ताला खरिद गर्ने गरेका छन् ।

जिल्लाको अन्य क्षेत्रमा भन्दा बिहुँ गाविसमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि कारोबार पनि बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बिहुँ गाविसमा रहेका १४ हजार ३०० सुन्तलताका बोटमध्ये पाँच हजार ३५४ बोटमा यो वर्ष सुुन्तला फलेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिए । एउटै बोटमा कम्तीमा ५० केजीदेखि पाँच क्विन्टलसम्म सुन्तला फल्ने गरेको बिहुँ का अगुवा कृषक बालानान्द कँडेलले बताए ।

बोटमा अझै सुन्तला बाँकी रहेकोले बिक्री अझै बढ्ने कुषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गाविसभरिमा आठ हजार ९५८ नयाँ बिरुवा हुर्कंदै गरेका छन् । सदरमुकाम बागलुङ बजारलगायत काठमाण्डु, चितवन जस्ता ठूला सहरबाट पनि व्यापारी कृषकको घरमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय कृषकले सुन्तलाको बगैँचा नै एकमुष्ठरूपमा ठेक्कामा दिने गरेको अधिकृत अधिकारीको भनाइ छ ।

व्यापारीले कृषकबाट प्रतिकेजी ३० रुपैयाँमा सुन्तला खरिद गर्ने गरेका छन् । बिहुँको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिम लगायतका ठाउँका कृषकले व्यावसायिक रुपमै सुन्तला खेती गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us