रुप्से झरनामा पर्यटक बढे

काठमाण्डु टुडे २०७० पुष ४ गते ५:५२ मा प्रकाशित

Rupse-Jharanaबाबियाचौर, ४ पुस–म्याग्दीको दाना गाविस–२ मा रहेको मनमोहक रुप्से झरनाको भ्रमण गर्ने पर्यटक बढ्न थालेका छन् । सडक सुविधा र पूर्वाधारको विकासका साथै रुप्से झरनाको प्राकृतिक सौन्दर्यताका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।

बेनी–जोमसोम सडकको मध्य भागमा पर्ने रुप्से झरनाको छङछङ गरी बग्ने छागोमा देखिने सदाबहार सप्तरङ्गी इन्द्रेणी निकै मनमोहक देखिन्छ । खण्डखण्ड भएर करिब ३०० मिटरको उचाइबाट खस्ने झरनाको सुन्दरता नजिकबाट नियाँल्न पाउँदा पर्यटकहरू फुरुङ पर्ने गर्दछन् ।

बेनी–जोमसोम सडक सञ्चालन भएपछि पदयात्रा तथा सवारीसाधनमार्फत मुस्ताङ जाने आउने पर्यटकहरूसँगै रुप्से झरनामा समेत पर्यटक बढेका स्थानीय शिक्षक जितबहादुर पुर्जाले बताउनुभयो । देशका विभिन्न स्थानबाट मोटरसाइकल, गाडी र पदमार्ग गर्दै आउने पर्यटकहरूका लागि रुप्से झरना आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

रुप्से झरनाको नजिकमा संसारकै गहिरो अन्धगल्छी, अनि केही तल बग्ने पवित्र कालीगण्डकी नदीले रुप्सेमा पर्यटकलाई थप लोभ्याएको छ । दाना गाविसका सचिव तिलबहादुर बिसीका अनुसार वार्षिक डेढ लाख पर्यटकले रुप्से भ्रमण गर्ने गरेका छन् । तीन वर्षअघि रुप्से झरनाको नजिक पुग्न सकिने पदमार्ग र भ्यू टावर निर्माण गरिएपछि पर्यटकलाई सहज भएको विसिको भनाइ छ ।

जिविस, गाविस, पर्यटन कार्यालय तथा समुदायको प्रयासमा झरनाको अवलोकनका लागि फराकिलो बाटो, अग्लो स्थानबाट हेर्नका लागि भ्यूटावर निर्माण गरिएको छ । बेनी–जोमसोम सडकमा यात्रा गर्ने पर्यटकहरूलाई बाटैमा पर्ने रुप्से अवलोकन गर्न सहज गराउन सवारी पार्किङको व्यवस्था गर्न पहल भइरहेको गाविस सचिव बिसीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us