‘गरिबले तिरेको कर दुरुपयोग नगर्नुस्’

काठमाण्डु टुडे २०७० पुष ४ गते ५:५९ मा प्रकाशित

DSC00694काठमाण्डु, ४ पुस–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले गरिबले कर तिरेको पैसा दुरुपयोग गर्ने या अनुत्पादक ढंगले थुपार्ने सुविधा कसैलाई नभएको बताएका छन् । उद्योग मन्त्रालयको चौमासिक समीक्षा बैठकलाई सम्वोधन गर्दै उद्योगमन्त्री समेत रहेका कोइरालाले जनता प्रत्यक्ष लाभान्वित हुने बजेटले सम्बोधन गरेका विषयलाई तत्काल अघि बढाउन आग्रह गरे ।

उनले तुलनात्मक हिसावले अहिले लगानी मैत्री वातावरण बनेको दावी गर्दै मन्त्रालयले पहिलो चौमासिकमा गरेको भौतिक र वित्तीय प्रगति निराशाजनक नभएको बताए । कम्पनी रजिष्ट्रारको कार्यालयमा अनलाईन सेवा शुरु भएको, औद्योगिक विकास ऐन मन्त्रिपरिषदमा पुगेको र चुनाव भइसकेको अवस्थामा अध्यादेशबाट ऐन ल्याउँदा नकारात्मक सन्देश जाने भएकाले अड्किएको उनले जानकारी गराए । मन्त्री कोइरालाले भने, ‘व्यापारिक समुदाय हाम्रो पछाडि छ । सरकार र निजीक्षेत्रको सहकार्य घनीभूतसँग बढ्दै गएको छ । विशेष आर्थिक क्षेत्र (सेज) लाई प्रभावकारी ढंगले अघि बढाउन सकियो भने औद्योगिक क्षेत्रमा कोशेढुंगा सावित हुनेछ ।’

उनले धराशायी अवस्थामा पुगेका बुटवल धागो, औषधि व्यवस्था लिमिटेड, म्याग्नेसाइट कम्पनीलाई जनकपुर चुरोट कारखानालाई जस्तै तत्काल टुंगोमा पुर्याउन आग्रह गरे । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएकोमा खुसी प्रकट गर्दै मन्त्री कोइरालाले सरकारको प्रोत्साहनले यो उद्योग केही वर्षमै विदेश निर्यात गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरे ।

उद्योग सचिव कृष्ण ज्ञवालीले उद्योग मन्त्रालयलाई चिनाउने एजेण्डामा गम्भीर भएर लाग्न मातहतका निकायलाई निर्देशन दिँदै खानीसम्म बिजुली र यातायातको पहुँच पुर्याउने सरकारी प्रतिवद्धतालाई तीब्रताकासाथ पूरा गर्नुपर्नेमा जोड दिए । मन्त्रालय अन्तर्गतका निकायहरुमा समस्या दोहोरिने गरेको बताउँदै जहाँ समस्या छ, त्यहाँ मात्र समाधान गर्ने परिपाटी थालिनुपर्ने उनको जोड थियो ।

सहसचिवद्वय जितबहादुर थापा र यामकुमारी खतिवडाले औद्योगिक प्रोफाइल बनाउने र प्रधानमन्त्री उद्यमी राष्ट्रिय पुरस्कार घोषणा गर्ने काम छिट्टै गरिने जानकारी दिए ।

सो अवसरमा उद्योग मन्त्रालय अन्तर्गत रहेका विभाग, आयोजना र निकायका प्रमुखहरुले चौमासिकमा भएका प्रगति र आगामी दिनमा गरिने कामका विषयमा जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us