देवयानी घटनामा अमेरिकाले माग्यो माफी

काठमाण्डु टुडे २०७० पुष ४ गते ५:२३ मा प्रकाशित

devyani-khobragadeनयाँदिल्ली, ४ पुस–भारतीय उपवाणिज्य राजदुत देवयानी खोबरगाडेमाथि न्युयोर्कमा भएको दुर्व्यवहारप्रति अमेरिकाले खेद व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार शिव शंकर मेननलाई बुधबार राती अबेर टेलिफोन गरी देवयानी प्रति भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

केरीको तर्फबाट वक्तब्य जारी गर्दै सहायक प्रवक्ता मारी हर्फले हाम्रा राजदुतलाई अरु देशले इज्जत गरेजस्तै अरु देशका राजदुतलाई सम्मान दिन तयार रहेको स्पष्ट पारेका छन् । बक्तव्यमा देवयानी घटनाले भारत र अमेरिकाबीचको सम्वन्ध बिग्रन नदिन प्रतिबद्ध रहेको उल्लेख छ ।

भीसामा गलत विवरण लेखेको र घरेलु कामदारलाई दुर्व्यवहार गरेको आरोपमा देवयानीलाई न्युयोर्क प्रहरीले १२ डिसेम्बरमा गिरफ्तार गरेको थियो । उनलाई हिरासतभित्र कपडा खोल्न लगाएर तलाशी लिएको र अपराधीहरुसँगै राखेको भन्दै भारतले आपत्ति जनाएको थियो ।

आफ्नो कुटनीतिज्ञलाई तल्लो स्तरको व्यहार भएको भन्दै भारतले नयाँदिल्लीस्थित अमेरिकी दुतावास अगाडिको सुरक्षा व्यवस्था हटाएको छ । साथै भारतले अमेरिकी वाणिज्य दुतहरुलाई दिँदै आएको विशेष अधिकार पनि खारेज गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us