एक महिनाभित्रै रेल्वे विस्तार

काठमाण्डु टुडे २०७० पुष ४ गते ४:४१ मा प्रकाशित

Nepal-Trainधनुषा, ४ पुस–जनकपुर–जयनगर रेल्वे सेवालाई विस्तार गर्ने योजनालाई एक महिनाभित्रै सुरु गरिने नेपाल रेल्वेले जनाएको छ । रेल्वे विस्तारका लागि भारतीय ठेकेदारमार्फत सम्पूर्ण प्रक्रिया सुरु भइसकेका कारण रेल्वे विस्तार कार्य चाँडै सुरु गरिने जानकारी रेल्वेले दिएको छ ।

विस्तारका लागि आवश्यक पर्ने सामानहरु नेपाल भित्र्याउन अर्थ मन्त्रालयले स्वीकृति दिइसकेकाले तीनचार दिनभित्रै सामानहरु आउने रेल्वे विभाग साइट कार्यालयका प्रमुख टोपराज बोहराले जानकारी दिए । रेल्वे विस्तारका क्रममा रेल्वे सञ्चालन बन्द गरिने छ ।

नेपालको एक मात्र रेल्वे अत्यन्त जीर्ण अवस्थामा रहेको र पटकपटक बन्द हुने गरेका कारण यस भेगका जनताले सास्ती खेप्दै आइरहेका छन् । रेल्वेलाई भारत सरकारको सहयोगमा विस्तार गरी ब्रोडगेजमा लैजान लागिएको हो । साथै, यो सेवालाई जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म लैजाने तयारी भइरहेको बोहराले जानकारी दिए । ब्रोडगेज निर्माणका क्रममा जनकपुर रेल्वेले ९१ बिघा १३ कट्ठा जग्गाबापत सर्वसाधारणलाई दुई करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकिएको छ

यो रेल विक्रम संवत् १९९४ मंसिर १६ गतेदेखि बिजलपुराबाट इनर्वा र त्यसपछि जयनगरसम्म चलाउन थालिएको हो । सुरुमा जङ्गलबाट काठ निकासीको ठेक्का गर्ने उद्देश्यले सञ्चालन गरिएको यो रेललाई ठेक्का सकिएपछि यात्रु ओसार्नका लागि प्रयोग गर्न थालिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us