
काठमाण्डु, ४ पुस–सरकारले स्थानीय निकाय निर्वाचनका लागि आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार पारेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचका लागि आवश्यक पर्ने ऐननियम संशोधनको खाका तयार गरी यसपछिका अरू प्रक्रिया अगाडि बढाएको छ । ‘छिटोभन्दा छिटो निर्वाचन होस् भनेर प्रक्रिया अघि बढाएका छौं,’ मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले भने ।
प्रमुख दलहरुले संविधानसभा निर्वाचन सम्पन्न भएको एक वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने बताउँदै आएका छन् । दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएको विहीबार ठीक एक महिना भएको छ ।
स्थानीय निकायको निर्वाचन गराउन तयार रहेको निर्वाचन आयोगले समेत जनाइसकेको छ । स्थानीय निकायको निर्वाचन नभएको १५ वर्ष बितिसकेको छ ।