मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन

काठमाण्डु टुडे २०७० पुष ३ गते १३:२१ मा प्रकाशित

imagesकाठमाण्डु, ३ पुस– मानव बेचबिखनमा परेका महिला तथा बालबालिकालाई उद्दार गर्न ७५ वटै जिल्लामा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति गठन गरिएको छ ।

समितिले सचेतनासम्बन्धी कार्यक्रम तथा उद्दारसम्बन्धी कार्य गर्दै आएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मानव बेचबिखनमा परेका महिला तथा बालबालिकालाई उद्दार गर्न राष्ट्रिय कोष खडा गरी हाल सिन्धुपाल्चोक, काठमाण्डु, कैलाली, रुपन्देही, झापा, बाँके, पर्सा र चितवन गरी आठ जिल्लामा गैर सरकारी संस्थाहरूको सहकार्यमा पुनःस्थापना गृह सञ्चालनमा ल्याएको छ ।

पुनःस्थापना केन्द्रले आर्थिक वर्ष २०६९/७० सम्ममा एक हजार १६४ जनालाई उद्दार गरिसकेको सरकारी तथ्यांकले देखाएको छ ।

मानव बेचबिखनमा परेका महिला तथा बालबालिकालाई मनोसामाजिक परामर्श दिएर ती संस्थाले उनीहरूको आत्मबल बढाउनका लागि सहयोग गर्ने सो मन्त्रालयका उपसचिव खड्गबहादुर राणाले जानकारी दिए ।

मानव बेचबिखनमा परेका तथा पर्न लागेका महिला तथा बालबालिकालाई परिवारको जिम्मा नलगाउँदासम्म वा उनीहरूको स्वास्थ्यमा सुधार नआउँदासम्म केन्द्रमा राखेर उपचार तथा परामर्श दिने गरिएको पुनःस्थापना केन्द्रकी अध्यक्ष निर्मला बरालले बताइन ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us