समानुपातिकतर्फको उम्मेदवार चयनको मापदण्डबारे कांग्रेसमा छलफल

काठमाण्डु टुडे २०७० पुष ३ गते १३:१४ मा प्रकाशित

Nepali-Congress-Party-Officeकाठमाण्डु, ३ पुस– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीति र समानुपातिकतर्फको उम्मेदवार चयनको मापदण्डबारे छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकमा संविधानसभा निर्वाचनको समीक्षा गर्दै निर्वाचनपछिको समसामयिक राजनीति र पार्टीका तर्फबाट चयन हुने समानुपातिक उम्मेदवार चयनको मापदण्डबारे छलफल भएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

बैठकमा निर्वाचनबाट पहिलो दलका रुपमा जनताले स्थापित गराएको जिम्मेवारीलाई आत्मसात गर्दै राष्ट्रिय राजनीतिमा सबै दललाई एकाकार गराउन भइरहेको द्विपक्षीय र बहुपक्षीय वार्ताबारे छलफल भएको उनले बताए ।

बैठकमा सहभागी सबै केन्द्रीय सदस्यले सबै दललाई सहमतिमा ल्याएर सहमतिका आधारमा संविधान निर्माण एवम् सरकार गठनमा अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

केन्द्रीय सदस्य गगन थापाका अनुसार समानुपातिक सभासद् चयनका लागि केन्द्रीय समितिबाटै उपयुक्त मापदण्ड तय गर्नुपर्ने, अन्य दलसँग गरिने वार्तामा विधिसम्मतरुपमा केन्द्रीय कमिटीमार्फत गर्नुपर्ने तथा संस्थागतरुपमा निर्णय लिने प्रक्रियालाई जोड दिनुपर्नेलगायतका कुरा बैठकमा सदस्यहरूले प्रस्तुत गरेका थिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us