
काठमाण्डु, ३ पुस- जाडोमा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर त्रिपालले नछोप्न सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
यसरी ट्याङ्कर छोप्दा आयल निगमलाई नोक्सान हुने भन्दै सरकारले नछोप्न भनेको हो ।
ट्याङ्करलाई छोप्दा तल र माथिको तापक्रममा फरक पर्ने र यसले आयल निगमलाई नोक्सान हुने सरकारी भनाइ छ ।
त्रिपालले ट्याङ्करलाई छोपेर पेट्रोलियम पदार्थको ढुवानी गर्न रोक लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयका अधिकारी तथा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई आग्रह गरेका छन् ।
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक जयराज आचार्यले ट्याङ्करलाई त्रिपालले छोपी ढुवानी गर्ने माथि अनुगमन गरी कारबाही गरिने बताए ।