
काठमाण्डु, ३ पुस – अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट कार्यान्वयनलाई तीव्रता दिन सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा भएको बजेटको पहिलो चौमासिक समीक्षा बैठकमा मन्त्री कोइरालाले अघिल्लो वर्ष काममा ढिलासुस्ती हुँदा बजेट कार्यान्वयन नभएकाले त्यस्तो समस्या आउन नदिन सक्रियतापूर्वक काम गर्न निर्देशन दिए ।
उनले बजेट कार्यान्वयनका लागि चालु खर्चलाई नियन्त्रण गर्दै पूँजीगत खर्च बढाउन पनि निर्देशन दिए ।
अर्थतन्त्र सकारात्मक यात्रामा रहेको भन्दै अर्थमन्त्री कोइरालाले गतिशील र सक्षम अर्थतन्त्र निर्वाचित अर्थमन्त्रीलाई बुझाउन आफू आतुर रहेको बताए ।
बैठकमा अर्थसचिव शान्तराज सुवेदीले अर्थ मन्त्रालयको सहमति बिनाको आर्थिक प्रस्ताव सिधै मन्त्रीपरिषदमा लैजाने गरिएकोमा आपत्ति जनाउँदै त्यसो नगर्न आग्रह गरे ।
उनले विदेश भ्रमणको खर्च तथा मन्त्री र सचिवसंग विदेश जाने कर्मचारीको संख्या घटाउनुपर्ने बताए । अर्थ सचिव सुवेदीले राष्ट्रिय गौरवका आयोजनाको कार्यसम्पादनमा जोड दिन आग्रह पनि गरे ।