
काठमाण्डु, ३ पुस– एमाले स्थायी समिति सदस्य केपी ओलीले अव नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् ।
वर्तमान राष्ट्रपतिलाई संविधान जारी नगरुन्जेलसम्म राख्न नसकिने भन्दै ओलीले नयाँ जनादेश अनुुसार नयाँ राष्ट्रपति चयन हुनुपर्ने बताए ।
‘४वर्षमा संविधान बनाउने त्यसपछि ४ वर्ष प्रादेशिक सभा र ईलेक्ट्रोल कलेज बनाउन समय लाग्छ, अहिले राष्ट्रपतिको कार्यकाल ६ वर्ष वितिसक्यो । संसारमा कतै १४ वर्ष हुन्छ राष्ट्रपतिको कार्यकाल ? राष्ट्रपति भनेको राजतन्त्र होईन सधै रहिरहने ।’ ओलीले भने, ‘हिजोको संविधानसभाले हिजो राष्ट्रपति छान्यो, आजको संविधानसभाले अहिले राष्ट्रपति छान्छ ।’
उनले लोकतान्त्रिक मूल्य मान्यतालाई आफू अनुकुल ब्याख्या गर्न नहुने बताए ।
ओलीले काग्रेस र एमालेलाई सहमतिका साथ अघि बढ्न जनताले म्याण्डेट दिएकोले त्यसै अनुसार सहमति गरि एक वर्षभित्र संविधान निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने बताए । उनले आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए ।
अर्को प्रसंगमा ओलीले अब फेरि समानुपातिकतर्फबाट मनोनित सभासदहरुको नाम बुझाउने म्याद थप्न नसकिने स्पष्ट पारे ।
उनले एमाओवादीले परिणाम नस्विकारेर जनताको अपमान गरेको आरोप लगाउँदै एमाओवादीले भने जस्तो स्वतन्त्र छानविन आयोग गठन नहुने संसदीय आयोग नै गठन हुने स्पष्ट पारे ।