हिन्दू र बौद्ध मिलेर बनाए बौद्ध माने

काठमाण्डु टुडे २०७० पुष ३ गते ६:१४ मा प्रकाशित

maneसोलुखुम्बु, ३ पुुस–राजनीतिक दलहरुबीच जातजाति र धर्मका विषयमा विवाद भइरहेको अवस्थामा सल्लेरी– ७ सोलुखुम्बुमा बुद्ध र हिन्दू धर्मावलम्बीहरु मिलेर बौद्ध माने बनाएका छन् ।

सल्लेरी–७ छुल्यामुस्थित सडकमा रहेको पुरानो माने बौद्ध भत्किएर जीर्ण भएकाले सोही स्थानमा आकर्षक बौद्ध माने बनाइएको हो । नेवार, शेर्पा, क्षेत्री, मगरलगायतको बसोबास रहेको सो क्षेत्रमा सबै जातजातिको सक्रियता र सहयोगमा माने निर्माण गरिएको हो । एक महिना अघिबाट निर्माण सुरु गरिएको मानेको मङ्गलबार उदघाटन (राप्ने) गरियो ।

सो अवसरमा धर्मगुरु लामा आङबाबु लामाले देशमा विभिन्न धर्म र जातिबीच मनमुटावको अवस्था देखिरहेको समयमा यहाँका बासिन्दाले एक भएर गरेको प्रयास सह्रानीय भएको बताए ।

‘अहिले विभिन्न दलले जातीय राज्य तथा धर्मका कुरा गरेर हामीलाई फुटाउन खोजेको भए पनि हाम्रो देशमा धार्मिक सहिष्णुता छ भन्ने कुराको बलियो प्रमाण मंगलबार यहाँ भएको कार्यक्रम हो,’ लामाले भने । राप्ने कार्यक्रममा विभिन्न जाति र धर्मका मानिसले शेर्पा परम्पराअनुसार पूजाआजा गरेका थिए ।

माने निर्माण समितिका सचिव राजकुमार खत्री भन्छन्, ‘हामी एक अर्काको धर्मको विरोध होइन मिलेर सबैको संरक्षण गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छौं, सोही कारण हामी हिन्दू भए पनि बुद्धधर्मको संस्कृति माने बनाउन पहल गरेका हौं ।’

माने बनाउन एक लाख ५६ हजार ७०० रुपैयाँ खर्च भएको थियो । यसका लागि विभिन्न व्यक्तिले आफ्नो क्षमताअनुसार सहयोग गरेका थिए । योङ स्टार क्लबले सिमेन्ट र रङ तथा आरआरएन नामक गैरसरकारी संस्थाले आवश्यक जिआइ पाइप उपलब्ध गराएको र अन्य सम्पूर्ण खर्च सहयोग रकमबाट खर्च भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । माने बनाउन ज्यामीका लागि मात्र एक लाख ४० हजार रुपैयाँ खर्च भएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us