मातृ र शिशु मृत्युदर बढ्दो

काठमाण्डु टुडे २०७० पुष ३ गते ५:५९ मा प्रकाशित

कञ्चनपुर, ३ पुस–कञ्चनपुरमा सुरक्षित मातृत्व कार्यक्रम लागू भए पनि मातृ र नवजात शिशु मृत्युदर बढ्दोरुपमा रहेको पाइएको छ । महिलाहरुलाई सुत्केरी हुनका लागि अस्पताल र स्वास्थ्य चौकीमा जानुपर्छ भन्ने जनचेतनाको कमी र सुत्केरी हुने महिलालाई अस्पताल पुर्याउन हुने ढिलाइका कारण मातृ र नवजात शिशुको मृत्यु दरमा बढोत्तरी भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार यहाँ अघिल्लो आर्थिक वर्ष २०६८/६९ मा ५४ नवजात शिशु र चारजना सुत्केरी भएका महिलाहरुको मृत्यु भएको थियो भने गत आव २०६९/७० मा नवजात शिशु ५६ र सुत्केरी भएका ६ जना महिलाको मृत्यु भएको छ ।

नवजात शिशुको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर, श्वासप्रश्वासको समस्याले, समय अगावै नवजात शिशु जन्मिदा कम तौल भएर र पोषणयुक्त खानेकुराको कमीका कारण मृत्यु हुने गरेको पाइएको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पशुपति सिंहले बताए ।

सुत्केरी हुने महिलालाई अस्पताल र स्वास्थ्य चौकीमा पुर्‍याउन गरिने ढिलाइ, घरमै असुरक्षित तरिकाले सुत्केरी गराउँदा अत्यधिक रक्तस्राव हुनु, अस्पतालमा पुर्‍याइए पनि ढिलो गरी सेवा प्राप्त हुनु र हेलचक्र्याइँका कारण महिलाको मृत्यु हुने गरेको उनले बताउनुभयो ।

नवजात शिशु र मातृ मृत्युदरलाई कम गर्नका लागि सुत्केरी हुने आमालाई तत्कालै अस्पताल र स्वास्थ्य चौकीमा खोलिएका बर्थिङ सेन्टरहरुमा लैजानुपर्ने र सुत्केरी भएपछि विशेष हेरचाहको आवश्यकता पर्ने नर्स सिंहले बताए ।

‘गर्भवती आमालाई पौष्टिक आहारको पर्याप्त व्यवस्था गर्नाले आमा र नवजात शिशुको अवस्था राम्रो हुने भए पनि यहाँका ग्रामीण क्षेत्रहरुमा विपन्न परिवारका महिलाले भरी पेट खानसमेत नपाउने समस्या छ,’ उनले भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us