‘दक्षिण सुडानमा सयौंको ज्यान गएको हुनसक्ने’

काठमाण्डु टुडे २०७० पुष ३ गते ४:५४ मा प्रकाशित

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका अध्यक्ष जेरार अर्रो ले दक्षिण सुडानमा जातिय विवादका कारण जस्तो देखिने द्वन्द्व गृहयुद्धमा रुपान्तरण हुनसक्ने बताएका छन्।

बीबीसीसंग कुरा गर्दै अध्यक्ष अर्रोले भने, राष्ट्रसंघलाई प्राप्त जानकारी अनुसार गत आइतबार त्यहां भएको सैनिक विद्रोहको प्रयासपछि भएको हिंसामा सयौं मानिसहरुको ज्यान गैसकेको छ।

उनका अनुसार राजधानी जुबास्थित राष्ट्रसंघीय कार्यालय परिसरहरुमा झण्डै बीस हजारजनाले शरण लिइरहेका छन् र त्यहां खानेकुरा र स्वास्थ्य सेवाका सामग्रीहरुको अभाव भएको छ।

आह्वान

उनले, दक्षिण सुडानको द्वन्द्वको राजनीतिक समाधानका लागि राष्ट्रसंघले आह्वान गरेको पनि बताएका छन्।

संयुक्त राष्ट्र संघले अपुष्ट स्रोतहरुलाई उद्धृत गर्दै दक्षिण सुडानमा सेनाको परस्पर विराधी गुटहरुबीच भएको हिंसामा चारसय देखि पांचसय जनासम्मको ज्यान गएको हुन सक्ने बताएको छ।

त्यहां राष्ट्रपति साल्भा किइर विरुद्ध सैनिक विद्रोहको प्रयास भएको भनिएको घटनाको दुई दिनसम्म भिडन्त भैरहेको थियो।

जातिय

मंगलबार न्युयोर्कमा बसेको संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको बैठकमा, दक्षिण सुडानमा भएको हिंसा, सम्भवत: जातिय विभाजनको आधारमा भएको जस्तो देखिएको बताइएको छ।

सोमबार, दक्षिण सुडानका राष्ट्रपति साल्भा किइरले एउटा राष्ट्रव्यापी सम्बोधनमा, भूतपूर्व उपराष्ट्रपति रिएक मचारप्रति बफादार सैनिकहरुको एउटा समूहले आइतबार राती सत्ता हत्याउन खोजेका तर तिनीहरुलाई पराजीत गरिएको बताएका थिए।

 

दक्षिण सुडानका राष्ट्रपति साल्भा किइरले सोमबार राष्ट्रव्यापी सम्बोधन गर्दै कर्फ्युको घोषणा गरेका थिए

त्यसपछि उनले राजधानीमा सांझ देखि विहानसम्म कर्फ्यु को घोषणा पनि गरेका थिए।

हिंसा सोमबार पनि जारी रहेको थियो र सरकारले स्थिती आफ्नो पूर्ण नियन्त्रणमा रहेको बताएको थियो।

खोजी

तर मंगलबार राष्ट्रपति भवन नजीकै र जुबाको अन्य क्षेत्रमा पनि गोली चलेको आवाज सुनिएको थियो।

सरकारी अधिकारीहरुले आफूहरुले लुकेर बसेका भूतपूर्व उपराष्ट्रपति माचारको खोजी गरिरहेको बताएका छन्।

त्यसअघि सरकारले भूतपूर्व अर्थमन्त्री सहित दशजना बरिष्ठ राजनीतिक व्यक्तित्वहरुलाई गिरफ्तार गरिएको बताएको थियो।

ति मध्ये धेरैजसो गत जुलाइ महिनामा सम्पूर्ण रुपमा बर्खास्त गरिएको मन्त्रीमण्डलका सदस्य थिए।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता दक्षिण सुडानले स्थायी सरकारका लागि संघर्ष गरिरहेको छ। BBC Nepali service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us