एमाओवादी पनि समानुपातिक सभासद् छान्दै

काठमाण्डु टुडे २०७० पुष ३ गते ४:२२ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, ३ पुस–संविधानसभा निर्वाचनमा भएको धाँधली छानविन नभएसम्म संविधानसभामा नजाने घोषणा गरेको एकीकृत नेकपा माओवादी अन्ततः संविधानसभामा सहभागी हुन सहमत भएको छ । उसले समानुपातिक सभासद चयनको गृहकार्य पनि शुरु गरेको छ ।

निर्वाचन आयोगले पुस १० गतेसम्म सभासदको नामावली बुझाउने समय दिएकोले त्यसअघि नै समानुपातिक सभासदको नामावलीलाई अन्तिम टुंगो लगाइने एमाओवादी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । सभासद् चयन गर्न केही दिनमा पार्टीको औपचारिक बैठक बस्ने उनले जानकारीसमेत दिए ।

‘हाम्रा माग सम्वोधन हुने भएपछि संविधानसभामा जान सहमत भयौं,’ प्रवक्ता सापकोटाले भने, ‘चुनावमा भएको धाँधली छानविन गर्न काँग्रेस–एमाले सकारात्मक भएका छन् ।’

माओवादीले सभासदको सूची बनाउँदा जिल्ला, राज्य र केन्द्रमा छलफल गर्ने भएको छ । एकीकृत माओवादीले यसपटक समानुपातिकमा सकेसम्म धेरै नयाँ अनुहारलाई पठाउने सम्भावना रहेको जनाइएको छ । प्रत्यक्षतर्फ २६ सिट जितेको एकीकृत माओवादीले समानुपातिकतर्फ ५४ सिट पाएको छ ।

यसअघि दोस्रो संविधानसभा निर्वाचनमा अप्रत्यासित परिणाम ब्यहोरेपछि एमाओवादीले संस्थागत, प्रकृयागत र नीतिगत रुपमा धाँधली भएको जिकीर गरेको थियो । धाँधली छानविन गर्न स्वतन्त्र आयोग गठन नभएसम्म संविधानसभामा नजाने उसले घोषणासमेत गरेको थियो । काँग्रेस–एमाले लगायत दलले स्वतन्त्र आयोग गठनको सट्टा संसदीय समिति बनाउन सकिने बताएका छन् । एमाओवादी पनि त्यही कुरामा सहमत हुदै संविधान निर्माण प्रक्रिायामा सहमत भएको स्रोतको दावी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us