
काठमाण्डु, ३ पुस– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधानको मुख्य कार्यभार सहमतिबाटै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । दीगो शान्ति स्थापना र नयाँ संविधान बनाउन एमाओवादीले ठूलो त्याग र बलिदान दिएको भन्दै प्रचण्डले त्यसलाई पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला सम्वन्धी उपमन्त्री आईफिङ नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार विहान भएको भेटवार्तामा प्रचण्डले नेपालका सबै राजनीतिक दल सहमति र सहकार्यबाट अघि बढ्न तयार रहेको स्पष्ट पारेका हुन् ।
प्रचण्ड निवास लाजिम्पाटमा दुई घण्टासम्म भएको भेटमा चिनियाँ टोलीले शान्ति र संविधानको कार्यभार सहमतिको आधारमा पूरा गर्न एकीकृत नेकपा माओवादीलाई सुझाव दिएको थियो ।
‘शान्ति र संविधानको कोर्स पूरा नभएकोले सबै पार्टीहरुको बीचमा सहमति कायम गर्दै जानुस् भनेर उहाँ (आईफिङ) को मुख्य भनाइको सार यही थियो,’ भेटमा सहभागी एकीकृत माओवादीका नेता कृष्ण बहादुर महराले पत्रकारहरुलाई जानकारी गराउँदै भने, ‘हाम्रो पार्टीको तर्फबाट अध्यक्षले सबै पार्टीसँग छलफल बहस भैरहेको र संविधान निर्माण जस्तो महत्वपूर्ण विषयमा सहमति अनुसार जानुपर्छ भन्नुभयो ।’
भेटमा चिनियाँ टोलीले संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रचण्डले खेलेको भुमिकाको प्रशंसा पनि गरेको थियो ।
चिनियाँ उच्चस्तरीय टोलीले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा–माओवादी लगायत दलका शीर्ष नेताहरुलाई पनि भेटेर समसामयीक परिस्थितिबारे परामर्श गर्ने छ ।
काँग्रेस विदेश विभागको निमन्त्रणामा नेपाल मामिला जानकार आई फीङ नेतृत्वको १४ सदस्यीय टोली मंगलबार नेपाल आएको थियो ।