
काठमाण्डु, ३ पुस–मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले बाह्र बुँदे समझदारी र बिस्तृत शान्ति सम्झौताको औचित्य सकिएको निष्कर्ष निकालेपछि ३३ दलीय मोर्चामा आबद्ध केही दल रुष्ट भएका छन् । माओवादीको एकसाता लामो केन्द्रीय समिति बैठकले निकालेको निष्कर्षले संयुक्त मोर्चाको नीतिलाई नै प्रभावित पार्ने भन्दै ति दलले विरोध गरेका हुन् ।
‘माओवादीले विस्तृत शान्ति सम्झौता, बाह्र बुँदे समझदारीको औचित्य सकियो भन्ने निष्कर्षले हामीलाई गम्भीर बनाएको छ,’ ३३ दलीय मोर्चामा आबद्ध सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले भने, ‘हामीले उसको नीतिलाई समेत हेरेर गठबन्धन गरेका हौं, अब समिक्षा गर्नेबेला भएको छ ।’
उनले आफूहरु सहमति र लोकतन्त्रप्रति विश्वास गर्ने भएकाले यस्ता अतिवादी निर्णयको विपक्षमा उभिने बताए । यसबारे वैद्य माओवादीबाहेक मोर्चामा आबद्ध नेताहरुको बुधबार बैठक बसेर समिक्षा गरी आवश्यक निर्णय लिने उनले जानकारी समेत दिए ।