सरकार बनाउनेबेला एमालेसँग काँग्रेस सशंकित

काठमाण्डु टुडे २०७० पुष ३ गते ३:२० मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, ३ पुस– सरकार गठनको गृहकार्य जारी रहेकोबेला एमालेको पछिल्लो भुमिकाले नेपाली काँग्रेस सशंकित भएको छ । उसको भुमिका शंकास्पद भएको काँग्रेसको अनुमान छ ।

राष्ट्रपतिको निर्वाचन, उच्चस्तरीय राजनीतिक समितिको निरन्तरता कि बिघटन, समानुपातिक सभासदहरुको नामावली बुझाउनको लागि निर्वाचन आयोगसँग थप समय मागलगायत विषयमा एमालेले सकारात्मक भुमिका नखेलेको काँग्रेसको ठहर छ । सरकार निर्माणमा पनि एमालेको स्पष्ट भुमिका काँग्रेसले खोजेको छ ।

यी लगायतका विषयमा बुधबारदेखि शुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुदै छ । यसका साथै समानुपातिक सभासद चयन, एकीकृत नेकपा माओवादीलाई सरकार र संविधानसभामा ल्याउने उपाय तथा सरकार गठनको रणनीतिबारे बैठकमा छलफल हुने छ ।

दोस्रो संविधानसभा निर्वाचनपछि काँग्रेसको केन्द्रीय समिति बैठक पहिलोपटक औपचारिकरुपमा बस्न लागेको हो । यसअघि अनौपचारिक छलफल हुदै आएको थियो ।

सहमतिको नाममा धेरै लचिलो नहुन खबरदारी

कोइराला निवास महाराजगन्जमा मंगलबार बसेको अनौपचारिक बैठकमा केन्द्रीय सदस्यहरुले लचकताको नाममा पार्टीका शीर्ष नेताले, चुनावमा भएको भनिएको धाँधली छानविन गर्न एमाओवादीले राखेको माग पूरा गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए । केन्द्रीय समितिको औपचारिक निर्णयबाट मात्रै अघि बढ्न दबाब दिएपछि काँग्रेसले बुधबार केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।

बैठकमा सहमतिको लागि हालसम्म भएको छलफलको समिक्षा, समानुपातिक उम्मेदवार चयन, सहमतिको सरकार गठन, चुनावमा भएका घात अन्तरघात लगायत विषयमा छलफल हुने नेता भिष्मराज आङदम्बेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us