देवयानी घटनामा भारत–अमेरिका तनाव बढ्यो

काठमाण्डु टुडे २०७० पुष ३ गते २:०१ मा प्रकाशित

India-Americaकाठमाण्डु, ३ पुस–एकजना भारतीय कुटनीतिज्ञलाई निर्बस्त्रपारि जाँच गरिएको घटनाले संयुक्त राज्य अमेरिका र भारतबीचको संबन्ध चिसिएको छ । केहि दिन अघि एकजना भारतीय महिला कुटनीतिज्ञ देवयानी खोबरागडेलाई निर्बस्त्रपारि जाँच गरेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध झन् तनावग्रस्त भएको हो ।

आफ्ना देशको कुनीतिज्ञलाई त्यसरी जाँच गरिनु र रातभरि पक्राउ गरेर लागु औषध सेवन गरेकाहरुबीच राखिनु जेनेभा सम्झौता विपरित भएको भन्दै भारतले विरोध जानाएको छ । विरोध स्वरुप भारतले राजधानी नयाँ दिल्लीस्थित अमेरिकी राजदुतावास अगाडिको सुरक्षा ब्यवस्था हटाएको छ । साथै भारतले अमेरिकी वाणिज्य दुतहरुलाई दिँदै आएको विशेष अधिकार पनि खारेज गरेको छ । दुतावासका कर्मचारीहरुलाई दिँदै आएको भन्सार सुविधाहरु पनि भारतले खारेज गरेको छ भने कुटनीतिज्ञहरुलाई दिईएको विशेष परिचय पत्र पनि फिर्ता लिएको छ । यसका अतिरिक्त अमेरिकी दुतावासका कार्यरत भारतीय कर्मचारीहरुलाई दिँदै आईएको तलब भत्ता र सेवा सुविधाबारे जानकारी पनि भारतले मागेको छ । भारतले देवायानी घटनामा संयुक्त राज्य अमेरिकाले औपचारिक माफि माग्नु पर्ने माग गरेको छ ।

अमेरिकाले भने कुनै पनि अपराधीसित गरिने त्यस्तो ब्यवहार अमेरिकी जाँच प्रकृयाको नियमित क्रिया भएको जनाउँदै घटनाको यकिन तथ्य सार्वजनीक गर्न जाँच गर्ने जनाएको छ । अपराधीहरुलाई अदालतसम्म पुर्‍याउन जिम्मेवार अमेरिकी मार्सल सर्विसले देवयानीसँग कुनै पनि फरक ब्यवहार नगरिएको जनाएको छ ।

देवयानीका वकिल डानियल आर्शेकले देवयानीसँग गरिएको ब्यवहार लज्जास्पद भएको जनाएका छन् । आर्शेकका अनुसार यसरी अपराधीलाई निर्वस्त्र पारेर जाँच गर्नु अमेरिकामा सामान्य प्रकृया हो, तर देवयानीको कुटनैतिक हैसियत अनुसार यस्तो हुनु गलत हो ।

देवयानीलाई एकजना घरेलु कामदारकोलागि भिषा आवेदन भर्दा गलत तथ्यहरु देखाएको आरोप लागेको छ । त्यसै आरोपका केहि दिन अघि उनलाई पक्राउ गरि निबस्त्रपारि जाँच गरि केहि घण्टापछि जमानतमा छोडिएको थियो । देवयानीलाई कामदार मगाउँदा अमेरिकी श्रम कानुन अनुसार मासिक ४ हजार ५ सय डलर पारिश्रमिक दिने भनि उल्लेख गरे पनि ६ सय डलर मात्र दिने गरेको आरोप लागेको छ । उनलाई अमेरिकी कानुन अनुसार कामदारहरुलाई दिनुपर्ने अन्य सुविधा समेत नदिएको आरोप लागेको छ ।

अमेरिकामा उल्लेखित आरोपहरु प्रमाणित भए पहिलोमा १० वर्ष र दोस्रोमा ५ वर्षको कैद सजाय हुन सक्ने प्रावधान छ । देवयानी घटनामा अर्को सुनवाई आगामी १३ जनवरीमा हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us