रुघाखोकीले ४ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २ गते १२:५६ मा प्रकाशित

cold coughमुगु, २ पुस– मुगुमा रुघा खोकीबाट चार जनाको मृत्यु भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रको भिइ गाविसमा फैलिएको रुघाखोकीको महामारीले चार जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।

गएको डेढ हप्तादेखि फैलिएको रुघाखोकी र निमोनियाको महामारीले भिइ गाविस १ का ६५ वर्षीय धनरुप सेजुवाल र उनकी पत्नी ६० वर्षीया बाँचु सेजुवालको मंसिर २७ गते मृत्यु भएको र मृत्यु हुने अन्य दुई जनाको पूर्ण जानकारी आई नसकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख रणबहादुर बोगटीले जानकारी दिए ।

उनीहरुको घरमा कोही नभएका र छोराबुहारी कमाउनका लागि भारततर्फ गएकाले मृतक सेजुवाल दम्पत्तीको दाहसंस्कार गाउँलेले गरेको स्थानीयवासीले जनाएका छन् ।

सदरमुकाम गमगढीदेखि महामारी प्रभावित क्षेत्र दुईदिन टाढा रहेकाले जानकारी आउन ढिलाइ भएको बोगटीले बताए ।

ढिलो गरी महामारी फैलिएको जानकारी आएकाले जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक प्रशान्त कँडेलको नेतृत्वमा चार सदस्यीय स्वास्थ्यकर्मीको टोली महामारी प्रभावित क्षेत्रमा खटाउने तयारी भइरहेको प्रमुख बोगटीले बताए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us