
काठमाण्डु, पुस २– दोस्रो एनसेल कप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लवले जितेको छ ।
मंगलबार भएको फाइनलमा ब्वाइज युनियन क्लवलाई १ – 0 ले हराउँदै साविक विजेता मनाङले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको २७ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले गोल गरे ।
निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको सुरुदेखि नै मनाङले गोलका थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेको थिएन । मनाङले उपाधिसँगै १५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता ब्वाइज युनिएनले ७ लाखमै चित्त बुझायो ।
सेमिफाइनलमा पुगेका संकटा र आर्मी क्लबले १/१ लाख रुपैयाँ हात पारे । ब्वाइज युनियन क्लब २०४० सालपछि पहिलो पटक ए डिभिजन स्तरको प्रतियोगिताको फाइनलमा पुगेका हो ।
ब्वाइज युनियनले मनाङका सुरुदेखिका धेरै प्रहार रोके पनि अन्तिम समयमा गोल खान पुगेको थियो । मनाङका लाग खेलको अन्तिम मिनेटमा विदेशी खेलाडी योना इलिसले गरेको प्रहार बारमा लागेर फर्किएको थियो ।
समूह चरणमा एउटै समूहमा रहेका यी दुई टोलीबीचको खेल मनाङले १-० ले नै जितेको थियो ।