
काठमाण्डु २ पुस– नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा संलग्न किष्ट बैंक र जम्को प्रालिका ६ जनाको जनाको चलअचल सम्पत्ति र सेयर रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सरकारी निकायसँग पनि त्यस्ता सम्पत्ति रोक्का गर्न आग्रह गरेको छ ।
राष्ट्र बैंकले गुल्मी थानपति गाविस ५ का किष्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवाली, पाल्पाको पिपलडाँडा गाविस १ का किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बालनरसिंह घर्ती र विराटनगर उपमहानगरपालिका ८ का सोही बैंकका नायब महाप्रबन्धक मञ्जयराज पाण्डेको चलअचल सम्पत्ति र सेयरहरू रोक्का गर्न भनेको हो ।
त्यसैगरी, राष्ट्र बैंकले ललितपुर उपमहानगरपालिका १८ का किष्ट बैंककै अर्का नायब महाप्रबन्धक प्रगुण श्रेष्ठ, भक्तपुर दुवाकोट गाविस ३ का जम्को प्रकाशन प्रालि अनामनगर, काठमाण्डुका किशोर ढकाल र उनकी श्रीमती देवकी बस्ताकोटीको नाममा रहेको सबै चलअचल सम्पत्ति एवम् सेयरसमेत रोक्का गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशनबमोजिम महनगरीय प्रहरी परिसर अपराध अनुसन्धान महाशाखाले सम्बन्धित निकायमा सोही ब्यहोराको पत्राचार गरेको छ ।
रासस