
काठमाण्डु, २ पुस– बालबालिकाका लागि काठमाण्डु उपत्यका असुरक्षित रहेको तथ्यांक आएको छ । तथ्यांकअनुसार उपत्यकाबाट सबैभन्दा बढी बालबालिका हराउने गरेका छन् ।
बालबालिका खोजतलास समन्वय केन्द्रको आव २०६९–७० को प्रतिवेदनअनुसार बढी जनघनत्व तथा नेपालकै ठूला सहर भएकाले सहर पस्ने रहर बोकेका बालबालिका यस क्षेत्रबाट हराउने गरेका हुन् ।
बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार बालबालिकाका आकाङ्क्षा बढी हुनु तर आर्थिक अभावका कारणले गर्दा ती आकाङ्क्षा पूरा नहुनुले कामको खोजीमा बालबालिका हराउने गरेका हुन् । यसरी हराएका बालबालिका चोरी, बलात्कार, हत्या तथा आपराधिक क्रियाकलापमा संलग्न भएको अनुसन्धानमा पाइएको छ ।
यसरी हराउने बालबालिकामध्ये ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिका बढी देखिएका बालबालिका खोजतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत भीमविक्रम शाहीले बताए । मध्यमाञ्चल विकास क्षेत्रमा ७३ प्रतिशत बालबालिका हराउने गरेकामा उपत्यकाकै ठूला सहर मानिने काठमाण्डु, ललितपुर, भक्तपुर क्षेत्रमा मात्रै ५५ प्रतिशत बालबालिका हराउने गरेका छन् भने बाँकी चार क्षेत्रमा २७ प्रतिशत बालबालिका हराउने गरेका छन् ।
बालबालिकाको अधिकार प्रत्याभूति बनाउने सरकार तथा बालबालिकाको केन्द्रीय निकायभएको सहरबाट नै सबैभन्दा ठूलो सङ्ख्यामा बालबालिका हराउनाले कानुनको फितलोपन भएको अभिभावकहरु बताउँछन् । यसरी केन्द्रीय निकायमा बालबालिकाको उद्धार तथा पुनःस्थापना केन्द्र हुँदाहुँदै पनि अज्ञानताका कारणले विभिन्न प्रयोजनका लागि बालबालिका हराउने गरेका छन् ।