
वीरगन्ज, २ पुस– जिल्ला प्रहरी कार्यालय पर्साले अवैध चाँदीका गहनासहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।
भन्सार छलेर अवैध रुपमा ल्याएको ५० हजार रुपैयाँ मूल्यबराबरको एक किलो चाँदीका गहनासहित बारा लिपनिमाल गाविस– ४ बस्ने २० वर्षीय राजेश्वर साह र भारत गाजियावादका ४८ वर्षीय राजिन्द्र शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
महिला पक्राउ
उनीहरुको साथबाट चाँदीको पायल २४ थान, विछिया १४ थान तथा बाला एक थान बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ ।
यसैगरी पथलैयाबाट वीरगन्जतर्फ आउँदै गर्दा मकवानपुर चुरियामाई गाविसका दुईजना महिलालाई घरेलु मदिरा २०० लिटरसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा चुरियामाई– ७ बस्ने अनिस लामाकी श्रीमती ३२ वर्षीया ठूलीमाया लामा र सोही ठाउँका रामबहादुर लामाकी श्रीमती राममाया लामा रहेका बताइएको छ ।