
काठमाण्डु, २ पुस– काठमाण्डुमा जारी एनसेल कप फुटबल प्रतियोगिताको उपाधि छिनोफानो मंगलबार हुँदैछ । उपाधिका लागि मनाङ–मर्स्याङ्दी क्लब र ब्वाइज युनियन क्लब भिड्दैछन् । खेल दशरथ रंगशालामा साँझ ५ बजेदेखि सुरु हुने छ ।
मनाङ साविक विजेता हो भने ब्वाइज युनियन तीन दशकमा पहिलोपटक नकआउट फुटबलको फाइनलसम्म पुगेको छ । सेमिफाइनलमा मनाङले संकटा क्लबलाई १–० ले हराएको थियो भने नवप्रवेशी ब्वाइज युनियनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाल आर्मी क्लबलाई पराजित गरेको थियो ।
‘ए’ डिभिजनका १२ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ जित्ने छ । यस्तै उपविजेताले ७ लाख रुपैयाँ पाउने छन् । सेमिफाइनलमा पराजित हुने दुई टिमले समान एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।