टोटनह्यामका म्यानेजर बर्खास्त

काठमाण्डु टुडे २०७० पुष २ गते २:३९ मा प्रकाशित

ANDRE VILLAS-BOASकाठमाण्डु, २ पुस– आईतबारको प्रिमियर लिग खेलमा लिभरपुलसँग ५–० को फराकिलो अन्तरले पराजित भएपछि टोटनह्यामले क्बलका म्यानेजरलाई बर्खास्त गरेको छ । घरेलु मैदान ह्वाईट हर्ट लेनमा १६ वर्ष यताकै सबैभन्दा ठूलो हार बेहोरेपछि क्लबले म्यानेजर आन्द्रे भिल्ला–बोसलाई बर्खास्त गरेको हो ।

३६ वर्षीय चेल्सी क्लबका पूर्व म्यानेजर भिल्ला–बोस सन् २०१२ को जुलाईमा टोटनह्यामका म्यानेजर नियुक्त भएका थिए । यसअघि मात्र ८ महिनाको कार्यकायल पछि २०१२ को मार्च महिनामा चेल्सीले समेत भिल्ला–बोसलाई बर्खास्त गरेको थियो ।

बर्खास्त हुनुअघि भिल्ला–बोसले टोटनह्यामकालागि ५३ दशमलब ७ प्रतिशत खेल जितेका थिए । जुन १९९२ मा प्रिमियर लिग शुरु भएयता स्पर्सका म्यानेजरकोलागि सबैभन्दा उत्कृष्ट नतिजा हो । तर यस वर्षको प्रिमियर लिग शुरु भएयता लामो समय लिग तालिकाको शीर्ष ४ मा रहेको स्पर्सको पछिल्ला केही प्रदर्शन यता भिल्ला–बोस निकै दवावमा थिए । स्पर्स अहिले लिग तालिकाको ७ औं स्थानमा छ । लिगमा अग्र स्थानमा रहेको आर्सनल भन्दा स्पर्स ८ अंकले पछाडी छ ।

गत नोभम्बर २४ मा भएको प्रिमियर लिग खेलमा पनि टोटनह्याम म्यानचेस्टर सिटीसँग ६–० को विशाल अन्तरले पराजित भएको थियो । यसबीच टोटनह्याम हसपुर क्लबकै पूर्व म्यानेजर ग्लेन होडलले आफू क्लबकालागि दोस्रो पटक अनुवन्धित हुन चाहेको जनाएका छन् । ५६ वर्षिय होडलले यसअघि सन् २००१ देखि २००३ का बीचमा पनि टोटनह्याम सम्हालेका थिए । ईंग्ल्याण्डका राष्ट्रिय टोलीका समेत पूर्व म्यानेजर रहिसकेका होडल टोटनह्याम हसपुरका अध्यक्ष ड्यानियल लेभिसँग नजिक रहेको मानिन्छन् ।

भिल्ला–बोस यसवर्षको प्रिमियर लिगमा बर्खास्त हुने चौथो म्यानेजर हुन् । यस अघि सन्डरल्याण्ड, फुलह्याम र वेस्ट बु्रमले पनि लिगमा राम्रो नतिजा दिन नसकेको भन्दै आ–आफ्ना म्यानेजर बर्खास्त गरिसकेका छन् । क्रिस्टल प्यालेसका म्यानेजर ईयान होलोवेले भने आफै क्लब छोडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us