आइ फिङ नेतृत्वमा उच्चस्तरिय टोली काठमाण्डुमा

काठमाण्डु टुडे २०७० पुष २ गते १८:५९ मा प्रकाशित

AI Pingकाठमाण्डु,३पुस- चिनिया कम्युनिष्ट पार्टीका बिदेश मामिला सम्बन्धी उपमन्त्री आइ फिङ नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डलले बुधवारदेखि राजनीतिक भेटवार्ता शुरु गरेको छ ।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेका उनले एमाले अध्यक्ष झलनाथ खनाल, काँग्रेस सभापति सुशिल कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसँग भेटवार्ता गर्नेछन् । उनको नेतृत्वको प्रतिनिधिमण्डलले राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गरी नेपाली राजनीतिको पछिल्लो अवस्था बुझ्न लागेको हो । दोस्रो संविधानसभा निर्वाचनपछि यो सबैभन्दा उच्च चिनियाँ टोली हो ।

दक्षिण एशिया तथा प्यासिफिक मामिला हेर्ने जिम्मेवारीमा रहेका उनलाई चीनमा नेपाल मामिलाका जानकार मानिन्छ । उनले यसअघि पनि पटक पटक नेपाल भ्रमण गरेका छन्।

नेपालका लागि चिनिया राजदुत ऊ छुन्थाईले दुई मुलुकका राजनीतिक दल र दुई मुलुकका वीचमा आत्मीयता बढाउन भ्रमणले थप योगदान पुर्‍याउने बिश्वास व्यक्त गरेका छन् । काँग्रेस बिदेश बिभाग प्रमुख सुजाता कोइरालाले आइ फिङको सम्मानमा दिन लागेको रात्री भोजको निमन्त्रणा कार्ड पुगेपछि मात्र परराष्ट्र मन्त्रालयले आइ फिङ आउन लागेको जानकारी पाएको समाचारमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us