उत्तर कोरियाद्वारा दक्षिण कोरिया माथि आक्रमण गर्ने चेतावनी

काठमाण्डु टुडे २०७० पुष १ गते १५:५६ मा प्रकाशित

सोल, १ पुस–दक्षिण कोरियाको उत्तर कोरियासँगको अग्र भागमा रहेको बाएङएओङ द्वीपमा उत्तर कोरियाबाट त्यहाँ रहेका सैनिकमाथि आक्रमण हुनसक्ने चेतावनी दिइएको हजारौँ पर्चाहरू खसाइएको समाचार प्राप्त भएको छ । south and north korea
दक्षिण कोरियाको नौसेनाको एक एकाइले ती पर्चा प्राप्त गरेको जानकारी योनहाप समाचार संस्थाले दिएको छ । दक्षिण कोरियाको सेनाले भने यस समाचारलाई पुष्टि गर्न अस्वीकार गरेको छ ।
पर्चामा बम आक्रमणको चेतावनी दिइएको र नौसेना आक्रमणको पहिलो लक्ष्य हुने बताइएको छ । उत्तर कोरियाको सरकारले त्यहाँका नेता किम जोङ–उनका राजनीतिक सहयोगी जाङ सोङ थाएकलाई किमलाई सत्ताच्युत गर्न षडयन्त्र गरेको तथा भ्रष्टाचार गरेको आरोपमा मृत्यदण्ड दिएपछि यस प्रकारको चेतावनी आएको हो ।
यसबीच उत्तर कोरियाली सेनाले सोमबार नेता किमप्रति आफू समर्पित भएको सपथ लिएको छ । सेनाले किमलाई आफ्नो ज्यान जोखिममा पारेर पनि प्रतिरक्षा गर्ने दृढता व्यक्त गरेका छन् । यसबीच उत्तर कोरियाबाट कुनै पनि प्रकारको उक्साहटको घटना हुनसक्ने भनी दक्षिण कोरियाले आफ्नो सेनालाई सतर्क अवस्थामा राखेको छ ।
प्योङ्याङमा सेनाको आम परेड सोमबार आयोजना गरिएको हो । मङ्गलबार त्यहाँका लामोसमयसम्मका नेता किम जोम–इलको देहावसानको दोस्रो वार्षिकी परेको छ । बिहीबार जाङलाई मृत्युदण्ड दिइएपछि किमले शक्तिमा आफ्नो नियन्त्रण रहेको कुरा देखाउन प्रयास गरिरहेको देखिएको छ ।
टेलिभिजनमा हजारौँ सैनिक उत्तर कोरियाका संस्थापक नेता किम इल–सुङ र उनका छोरा जोङ–इलको शव राखिएको कुमसुसान प्यालेस अफ द सनको बाहिरी भागमा परेड गरिरहेको देखाइएको थियो ।
उनीहरूले जोङ–इलको सम्झनामा भेलामा सर्वोच्च कमान्डरका लागि बन्दुक तथा ढाल बन्ने नारा लगाएका थिए ।
सेनाका राजनीतिक ब्युरोका प्रमुख चोए ¥योङ हाएले सैनिकलाई आफ्नो जीवनको समेत बलिदान गर्दै र मानवीय गोली तथा बम बन्दै किम जोङ–उनको प्रतिरक्षाका लागि आग्रह गरे ।
जाङलाई मृत्युदण्ड दिइएपछि चोए सबैभन्दा शक्तिशाली सैनिक व्यक्तित्व बनेका छन् । जाङलाई मृत्युदण्ड दिइएपछि किमप्रति सैनिक समर्थनको महत्व अझै बढेको बताइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us