सैनिक विद्रोह पराजित गरेको राष्ट्रपतिको दावी

काठमाण्डु टुडे २०७० पुष १ गते १५:४१ मा प्रकाशित

जुबा, १ पुस–नवस्वतन्त्र मुलुक दक्षिणी सुडानका राष्ट्रपति साल्भा किरले सोमबार राजधानीमा कडा भिन्डन्तपछि आफूले सैनिक विद्रोहलाई पराजित गरिदिएको बताएका छन ।
नगरको केन्द्र नजिकै सैनिक ब्यारेकमा मध्यरातअगाडि सङ्घर्ष आरम्भ भएको र नगरभर फैलिएको कूटनीतिज्ञ तथा प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले मेसिनगन तथा क्षेप्यास्त्र प्रयोग भएको जानकारी दिए ।
संयुक्त राष्ट्र सङ्घले सयौँ त्रस्त नगरवासीले संयुक्त राष्ट्र सङ्घको परिसरमा शरण खोजेको जानकारी दिएको छ । नगरका बासिन्दाले आफूलाई घरमै बन्द गरेको एएफपीका समाचारदाताले बताए ।
राष्ट्रपति साल्भा किरले आफ्ना प्रतिद्वन्द्वी पूर्व उपराष्ट्रपति रिक मासारले हिंसा आरम्भ गरेको आरोप लगाए । उनलाई जुलाइ महिनामा सरकारबाट हटाइएको थियो ।
राष्ट्रपतिले एक सम्बोधनमा सरकारले सुरक्षामा पूर्ण नियन्त्रण कायम गरेको, आक्रमणकारी भागेको र सेनाले उनीहरुलाई लखेटेको बताए । उनले यस्तो घटना पुनः हुन नदिने बताए ।
उनले सोमबार साँझ ६ः०० बजेदेखि मङ्गलबार बिहान ६ः०० सम्म कफर््यु जारी भएको बताए ।
सेनाका प्रवक्ता फिल अगरले स्थानीय रेडियोमा राष्ट्रपतिप्रति समर्थक सेनाले परिस्थिति नियन्त्रणमा लिएको बताए ।
जुबामा अमेरिकी तथा बेलायती दूतावासले आफ्ना नागरिकलाई अनावश्यक हिँडडुल नगर्न आग्रह गरेको छ । अमेरिकी दूतावासले जुबाको अनेकौँ स्थानमा रातभर गोली प्रहारको घटना भएको जानकारी दिएको छ ।
नगरका एक कूटनीतिज्ञले राष्ट्रपतिप्रति समर्थक सेना नगरको प्रमुख चोकमा देखिएको बताए । नागरिक उड्डयन तथा विमान सेवा स्रोतले जुबा अन्तर्राष्ट्रिय विमानस्थल अनश्चितकालका लागि बन्द भएको जानकारी दिएका छन् । मुलुकको युगान्डा तथा केन्यासँगको सीमा बन्द भएका छन् ।
मासारले सत्ताधारी सुडान पिपुल्स लिबरेसन मुभमेन्टका विद्रोही समूहको नेतृत्व गरेका छन र यो समूह राष्ट्रपति किरका प्रमुख चुनौतीको रुपमा रहेको छ ।
तेलधनी दक्षिण सुडानका जनताले सन् २०११ मा भएको जनमत सङ्ग्रहमा स्वतन्त्रताको पक्षमा मतदान गरेपछि नयाँ मुलुक जन्मभएको हो ।

१९ लाख बिस्थापित,१३ लाख खाद्यान्न सुरक्षाबाट प्रभावित
सुडानमा संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारी अली अल–जातारीले सोमबार डार्फरमा करिब २० लाख जनता विस्थापित भएको जानकारी दिएका छन् । यस क्षेत्रमा यस वर्ष हिंसा निकै बढेको देखिएको छ ।
    अल–जतारीले १९ लाख जनता विस्थापित भएको र १३ लाख जनता खाद्यान्न असुरक्षाबाट प्रभावित भएको बताए । उनले डार्फरमा सहयोग आवश्यक पर्ने सुडानी जनताको सङ्ख्या ३२ लाख भएको बताए ।
    उनले डार्फरमा मानवीय आवश्यकताका तुलनामा संयुक्त राष्ट्र सङ्घले आधा मात्र सहयोग प्राप्त गरेको पनि उल्लेख गरे । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us