कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

काठमाण्डु टुडे २०७० पुष १ गते ११:४० मा प्रकाशित

काठमाण्डु, १ पुस– नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा आगामी पुस २ देखि ४ गतेसम्म छैटौँ कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित पत्रकार सम्मेलनमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष टेकराज जोशीले दिएको जानकारीअनुसार प्रतियोगिता राखेप कभर्ड हलमा सञ्चालन हुनेछ ।

प्रतियोगिताबाट नेपालभरि रहेका तेक्वान्दो खेलाडी, पदाधिकारी, प्रशिक्षकबीचको आपसी सम्बन्धलाई दर्बिलो बनाउन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिएको छ । यस प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका गरी तीन विभागीय टोलीका साथै नेपाल तेक्वान्दो संघमा आबद्ध रहेका नेपालभरिका सम्पूर्ण तेक्वान्दो तालिम केन्द्रका खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगिताको जुनियरतर्फ पुरुष तथा महिला र सिनियरतर्फ पुरुष तथा महिलासमेत गरी स्पाइरिङ विधातर्फ २४ र र पुम्से विधातर्फ १९ गरी जम्मा ४३ वटा विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

त्यसैगरी प्रतियोगितामा महिला ५०० र पुरुष ९०३ गरी जम्मा एक हजार ३०० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि संघका अध्यक्ष प्रकाशशम्सेर राणाको अध्यक्षतामा ३७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको संघका उपाध्यक्ष टेकराज जोशीले बताए ।

बिजेता खेलाडीलाई नगद पुरस्कारका साथै सिल्ड तथा मेडल प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका लागि कोरियाली दूतावासले ४०० अमेरिकी डलर र राष्ट्रिय खेलकुद परिषद्ले रु चार लाख प्रदान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us