अफगानिस्तानबाट सबै अष्ट्रेलियाली सैनिक फिर्ता

काठमाण्डु टुडे २०७० पुष १ गते ९:०८ मा प्रकाशित

सिडनी, १ पुस– अफगानिस्तानमा शान्ति प्रक्रियालाई सघाउनका लागि कार्यरत नेटो सैनिक समूहअन्तर्गतका सबै अष्ट्रेलियाली सैनिक फिर्ता भइसकेका जनाइएको छ ।

अफगानिस्तानको उरुज्गान प्रान्तमा रहेका एक हजार सैनिक अइतबार फिर्ता भएपछि त्यहाँ रहेका सबै अष्ट्रेलियाली सैनिक फिर्ता भइसकेको जानकारी अष्ट्रेलियाली प्रधानमन्त्रीले दिएका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटले नेटो सैनिक समूहमा रहेर अष्ट्रेलियाको शान्ति मिसनमा कार्यरत आफ्नो देशका सबै सैनिक फिर्ता भइसकेको जानकारी सोमबार दिएका छन् ।

साथै उनले सो सैनिक समूहमा रही विगत करिब एक वर्ष कार्यरत रहँदा अष्ट्रेलियाका कम्तीमा पनि ४० जना सैनिकको ज्यान गएको जानकारी पनि दिएका छन् । सन् २०१४ को अन्त्यसम्ममा नेटोमा रहेका सबै सैनिक फिर्ता भइसक्ने घोषणा यसअघि नै विभिन्न देशले गरेका थिए ।

सोही बमोजिम नै अष्ट्रेलियासहितका विभिन्न देशले आ आफ्ना सैनिक फिर्ता गर्ने काम गतवर्षदेखि नै सुरु गरेका हुन् । सबै सैनिकको फिर्तीको कार्यक्रम हिजो नै घोषणा गरिसकिएको छ । ती सैनिक आजबाट फर्किन थाल्नेछन् र सबैजना क्रिश्मससम्ममा आ आफ्नो घर पुगिसक्ने छन्– सो समाचारमा जनाइएको छ ।

यो युद्ध जितेको घोषणा होइन र हारेको पनि होइन भन्दै प्रधानमन्त्री अबोटले भन्नुभयो– हाम्रो उपस्थितिले उक्त उरुज्गान प्रान्तमा आगामी दिनका लागि केही आशाको सञ्चार भने गराएको छ । उनले भने, ‘हामीलाई के अनुभुति भएको छ भने अफगान सैनिक रहेको उक्त प्रान्तमा विगतको दशकको तुलनामा आज निकै धेरै कुरामा परिवर्तन आएको छ ।’

प्रधानमन्त्री अबोटले अफगानिस्तानमा आगामी दिनमा पनि करिब दुई सय सैनिक विना पोशाकमा रहने छन् र उनीहरु राजधानी काबुलमा मात्र रहने छन् । अफगानिस्तानको शान्ति मिसनमा अष्ट्रेलियाका करिब एक हजार ५५० जना सैनिक कार्यरत रहेका थिए ।

अफगानिस्तानमा सन् २०१४ पछि पनि अमेरिकाका १२ हजार गरी बढीमा १४ हजार सेना बस्ने प्रस्तावसहितको एक सुरक्षा सम्झौतामा भने अमेरिका र अफगानिस्ताका बीचमा कुराकानी भइरहेको छ । तर सो विषयमा अफगानिस्तानले भने सहमति जनाएको छैन ।

अमेरिकासहित चीन, पाकिस्तान र रसियाले पनि अफगानिस्तानले सो सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नुपर्ने धारणा यसअघि नै सार्वजनिक गरेका छन् । अफगानिस्तानमा रहेका नेटो सैनैकिको बसाई अवधिलाई लम्बाउने विषयमा अमेरिका र अफगानिस्तानका बीचमा हुने भनिएको सुरक्षा सम्झौता अन्योलमा परेको छ । विगतका महिनादेखि यस विषयमा अमेरिका र अफगानिस्तानका बीचमा विवाद उत्पन्न भएको छ ।

राष्ट्रपति कारजायीले उक्त प्रस्तावका बारेमा अमेरिकीहरुसँग छलफल गर्न नै इच्छा देखाइरहेका छैनन् । गतहप्तामात्र अफगानिस्तान पुग्नुभएका अमेरिकी रक्षा मन्त्रीसँग पनि उनले यस विषयमा केही कुरा गरेनन् ।

उता अफगान सरकारले त्यहाँ सशस्त्र विद्रोह गरिरहेका तालिवानहरुसँग शान्तिवार्ताको तयारी गरिरहेको बताएपनि त्यसको ठोस प्रगतिका बारेमा भने केही भनेको छैन । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us