लिभरपुल दोस्रो स्थानमा, टोटनह्यामविरुद्ध गोलबर्षा

काठमाण्डु टुडे २०७० पुष १ गते १:५३ मा प्रकाशित

Liverpoolकाठमाण्डु, १ पुस–टोटनह्यामलाई पाँच–शून्यको फराकिलो अन्तरले हराउँदै लिभर पुल ईङ्गलिस प्रिमियर लिगमा दोस्रो स्थानमा पुगेको छ । खेलका क्रममा १० खेलाडीमा सिमित भएको टोटेनह्यामलाई गोलवर्षा गर्ने क्रममा लिभरपुलका स्टार स्ट्राईकर लुईस स्वारेजले दुई गोल प्रहार गरे । उरुग्वेका राष्ट्रिय खेलाडी स्वारेजले खेलका क्रममा गरेको दोस्रो गोल यस वर्षको लिगको १६ औं गोल थियो । घाईते भएका कप्तान स्टेफन जेरार्डबिना नै मैदानमा उत्रिएको लिभरपुलका लागि पहिलो गोल खेलको १८ मिनेटमा स्वारेजले नै गरेका थिए । शुरुदेखि नै खेलमा पकड जमाएको लिभर पुलले लगातार गोलको प्रयास गर्दा खेलको ४० औं मिनेटमा घरेलु खेलाडी जोर्डन ह्यान्डरसनले दोस्रो गोल गरे ।

२–० ले पछि परेको टोटनह्याले खेलको ६३ औं मिनेटमा ब्राजिलयन मध्य पङ्तीका खेलाडी पाउलिन्हो रातो कार्ड पाएर बाहिरिएपछि थप झट्का बेहोर्नु पर्यो । जेरार्डको अनुपस्थितिमा खेलमा कप्तानी गरिरहेका स्वारेजलाई छातिमा लात्ताले प्रहार गरेपछि पाउलिन्होलाई रेफ्रिले रेड कार्ड देखाए । पाउलिन्हो बाहिरिएपछि १० जनामा सिमित भएको टोटनह्यामले त्यसपछि थप तीन गोल खायो । टोटेनह्यामको लज्जास्पद हारमा घरेलु खेलाडी जोन फल्नागन, स्वारेज र ईङ्ग्लिस राष्ट्रिय टोलीका अर्का खेलाडी रहिम स्टरलिङले थप गोल गरे ।

टोटनह्यामको घरेलु मैदान ह्वाईट हार्ट लेनमा लिभरपुलको ७ खेल पछिको यो पहिलो जीत थियो । घरेलु मैदानको लगातार पाँच खेलको अपराजित यात्रापछि टोटेनह्यामको भने यो घरेलु मैदानको पहिलो हार हो ।

आईतबार रातिको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लालाई ३–० ले पराजित गर्यो । एस्टनलाई पराजित गर्ने क्रममा युनाईटेडका लागि ईङ्ग्लिस खेलाडी डेनी वेलबेकले दुई गोल गरे भने अर्को गोल बायनु रुनीको उत्कृष्ट पासमा अर्का ईङ्ग्लिस खेलाडी टम क्लेभर्लीले गरे । गत वर्षको विजेता म्यान्यू जीतसँगै लिग तालिकाको ८ औं स्थानमा पुगेको छ । म्यान्यु अझै पनि लिगको शीर्ष स्थानमा रहेको आर्सनल भन्दा १० अंक पछाडी छ भने उत्कृष्ट चारमा परेका टोलीहरु भन्दा ७ अंक पछाडी छ ।

आईतबार राति नै नर्विच र स्वान्सी सिटीबीच भएको खेल भने एक–एकको बराबरीमा टुङ्गिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us