बंगलादेशमा थप १३ जना र सिरियामा १५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर ३० गते १७:२८ मा प्रकाशित

ढाका, ३० मंसिर–बङ्गलादेशमा प्रमुख इस्लामी नेता अब्दुल कादर मुल्लालाई मृत्युदण्ड दिइएपछि निरन्तरको विरोध प्रदर्शनमा शनिबार राती थप १३ व्यक्तिको मृत्यु भएको छ भने प्रधानमन्त्री सेख हसिनाले प्रदर्शनकारीमाथि कारवाही गर्ने चेतावनी दिएकी छन ।
मुल्लालाई सन् १९७१ मा स्वतन्त्रताको युद्धमा आमहत्या गरेको आरोपमा मृत्युदण्ड दिइएपछि इस्लामी समर्थकहरूले सत्ताधारी दलको कार्यकर्ताको घरमा आगो लगाउन तथा सडकमा सङ्घर्ष थालेपछि गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार छ व्यक्तिको मृत्युभएको र तीमध्ये चारको मृत्यु पतग्राममा भएको बताइएको छ । इस्लामी समर्थकहरूले जमात–ए–इस्लामी दलका वरिष्ठ नेता मुल्लालाई मृत्युदण्ड दिएको विरोधमा राष्ट्रव्यापी रूपमा प्रदर्शन आरम्भ गरेका र यसै कारण यी मृत्यु भएको बताइएको छ ।
सरकारी प्रवक्ता हबिबुर रहमानले जमातका प्रदर्शनकारीले करिब २० घरमा आगो लगाइदिएको बताए । बिहीबार मुल्लालाई मृत्युदण्ड दिइएपछि जमातका कार्यकर्ता तथा प्रहरी तथा सत्ताधारी अवामी लिगका समर्थकबीच भएका सङ्घर्षमा पच्चीस व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यसबीच बङ्गलादेशको सत्ताधारी दलले आउँदो निर्वाचनमा विजय हासिल गर्ने देखिएको छ । अर्कोतिर जनवरी ५ मा हुने निर्वाचनका विषयमा विवाद समाधान गर्न सरकारलाई कडा अन्तर्राष्ट्रिय दबाब परेको छ । बङ्गलादेशमा गत अक्टोबरदेखि भएका राजनीतिक हिंसामा ८० भन्दा बढी व्यक्तिको मृत्युभएको छ ।
प्रधानमन्त्री हसिनाले राजिनामा नदिएसम्म प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टी तथा उसका १७ सहयोगी दलले निर्वाचन बहिष्कार गर्ने बताएका छन् भने सत्ताधारी अवामी लिग भने निर्वाचन गराउने दृढतामा छ ।
उम्मेदवारको नाम दर्ता शुक्रबार बन्द भएपछि निर्वाचन आयोगले ३०० स्थानमध्ये १५४ स्थानमा एक उम्मेदवारको मात्र नाम दर्ता भएको र तीमध्ये १२७ अवामी लिगका उम्मेदवार भएको जानकारी दिएको छ ।
अवामी लिगका सहयोगीहरूले अन्य सात स्थानमा एक मात्र उम्मेदवार उठाएका छन् भने अब सत्ताधारी गठबन्धनलाई बहुमत प्राप्त गर्न १७ स्थान मात्र भए पुग्ने देखिएको छ ।
बीएनपीका उपाध्यक्ष समसेर मोबिन चौधरीले एक व्यक्तिको मात्र उम्मेदवारी पर्नुले निर्वाचनमा धाँधलीले नयाँ उचाइ लिएको देखाउने बताए ।

 सिरियाको हवाइ आक्रमणमा १५ जनाको मृत्यु

सिरियाको युद्धबाट प्रभावित उत्तरी नगर अलेपोको विद्रोहीले नियन्त्रण गरेको क्षेत्रमा सरकारी सेनाले गरेको हवाइ आक्रमणमा पन्ध्र व्यक्तिको मृत्यु भएको छ । त्यसमा आठ बालबालिका परेको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ ।
    बेलायतमा केन्द्रीय कार्यालय रहेको अब्जरभेटरीले दमासकसको उत्तरपूर्वी भागमा रहेको आद्रामा विद्रोहीले बुधबार आक्रमण गरेपछि कम्तीमा २८ व्यक्तिको मृत्यु भएको पनि उल्लेख गरेको छ ।
    कार्यकर्ताहरूको सञ्चार केन्द्र अलेपो मेडिया सेन्टरले निकै हेलिकप्टरले नगरको विद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा आक्रमण गरेको जानकारी दिएको छ ।
    हेलिकप्टरले विस्फोटकले भरिएको ब्यारेल खसाएको र त्यसले व्यापक रूपमा क्षति पु¥याएको उक्त समूहले उल्लेख गरेको छ ।
    सिरियामा सन् २०११ को मार्च महिनादेखि हालसम्म एक लाख २६ हजार व्यक्तिको मृत्यु भएको र १० लाख मानिसले आफ्नो घर छोडेको बताइएको छ । एएफपी

 

एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us