
कञ्चनपुर, ३० मंसिर– कञ्चनपुरका पशुपालक उन्नत नस्लका गाई र भैँसीपालनतर्फ आकर्षित भएपछि जिल्लाबाहिर दूध निर्यात हुन थालेको छ ।
पशु सेवा कार्यालय कञ्चनपुरका अनुसार दैनिक यहाँबाट चार लाख ८० हजार मूल्य बराबरको १२ हजार लिटर दूध निकटवर्ती भारतीय बजार र कैलालीतर्फ निर्यात हुने गरेको छ ।
कृत्रिम गर्भाधान सेवा जिल्लामा प्रभावकारी भएकाले दूध उत्पादनमा बढोत्तरी भई जिल्लामा खपत हुन नसकेर पशुपालकले जिल्लाबाहिर दूध निर्यात गर्दै आएको पशु सेवा कार्यालय कञ्चनपुरका वरिष्ठ पशु विकास अधिकृत डा मदन सिंह धामीले बताए ।
दोधारा, चाँदनी र ब्रह्मदेव क्षेत्रबाट दैनिक छ हजार ३०० लिटर दूध भारतीय बजार खटिमा र टनकपुर बजारमा निर्यात हुने गरेको उनले बताए । यहाँका त्रिभुवनबस्ती, रैकवार विचवा, कृष्णपुर, झलारी, सुडा र बेलौरीबाट दैनिक पाँच हजार ७०० लिटर दूध कैलालीमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)ले खरिद गरेर लग्ने गरेको छ ।
वार्षिक रूपमा जिल्लाबाहिर तीन लाख ६५ हजार लिटर दूध निर्यात गरेर पशुपालले १० करोडभन्दा बढी आम्दानी गर्दै आएको वरिष्ठ पशु विकास अधिकृत धामीले बताए । जिल्लामा भैँसीको औषत दूध उत्पादन ७५३ लिटर प्रति वेत र गाईमा ३७० लिटर प्रति वेत रहेको छ ।
दूधको उपलव्धता ६५ दशमलब ७ लिटर प्रति व्यक्ति प्रति बर्ष रहेको छ । जिल्लामा करिव २९हजार मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।