
धनगढी, ३० मंसिर– चारपाँच किलोग्रामसम्म तौल भएको एउटै लौका कहिलेकाँही तरकारी बजारमा भेटाउनु सामान्य होला तर धनगढी नगरपालिका वडा नं–३ चटकपुरकी कृषक सुनितादेवी चौधरीको बारीमा १५ किलो ग्रामसम्म तौल भएको एक वटा लौका फलेको छ ।
चौधरीको घरबारीमा फलेका १५÷/५ किलो तौल भएका दुई वटा लौका यहाँ जारी सुदूरपश्चिम महोत्सवमा, प्रतियोगितात्मक कृषि प्रदर्शनीका लागि राखिएको छ । घरकै गोबर मल (कम्पोष्ट मल)को प्रयोगबाट यति ठूलो लौका फलेको कृषक सुनितालाई उद्धृत गर्दै प्रदर्शनीका सञ्चालक धनबहादुर चौधरीले बताए ।
स्थानीय जातको गोलो र डल्लो आकारका यी लौकाको तरकारी उन्नत जातको लौकाभन्दा स्वादिलो हुने अगुवा कृषक राजकुमार जवराले बताए । कृषि प्रदर्शनीको बिक्रीमा झन्डै चार फिट लामो र छ/सात किलो तौलको अर्को एक लौका र उन्नत जातको खुर्सानीको बोटमा लटरम्म फलेको खुर्सानी पनि आकर्षक रहेको छ । रासस